प्रविधि र स्वास्थ्यसंग जोडिएका कुरा

कम्प्युटर भिजन सिन्ड्रोमका ८ लक्षण, कसरी बच्ने

पछिल्लो एक दशकमा नेपालीमाझ मोबाइल र ल्यापटपको प्रयोग ह्वात्तै बढेको पाइन्छ| यस्ता प्रविधियुक्त सामग्रीको प्रयोगले हाम्रो दैनिक जीवन सहज गराए तापनि लामो समयसम्मको प्रयोगले आँखा र दृष्टिामा गम्भीर असर गर्ने गरेको पाइन्छ|

यस्ता समस्याबाट नेपाली समाजमा धेरै मानिस अन्जान छन्| “भिजन काउन्सिल” नामक एक अन्तर्राष्ट्रिय संस्थाले गरेको अनुसन्धानमा विश्वमा हरेक मानिस औसतमा प्रत्येक दिन सात घन्टा कम्प्युटरजन्य सामाग्री नजिक रहेर काम गर्ने गर्छन्| यही संस्थाको अनुसन्धान रिपोर्टका अनुसार अमेरिकामा मात्र ५०-८० प्रतिशत कम्प्युटर प्रयोगकर्तालाई “कम्प्युटर भिजन सिन्ड्रोम” नामक समस्याले पिरोलेको पाइन्छ। यो समस्या निकट भविष्यमा अझै बढ्ने अनुमान रहेको छ|

के हो कम्प्युटर भिजन सिन्ड्रोम?
मेडिकल भाषामा “डिजिटल आई स्ट्रेन” पनि भनिने यो समस्या लामो समयसम्म कम्प्युटरजन्य डिजिटल सामग्रीहरुको प्रयोगले गर्दा हुन्छ| यसरी कम्प्युटरको अत्यधिक प्रयोगले आँखा तथा दृष्टििमा आउने समस्यालाई “कम्प्युटर भिजन सिन्ड्रोम” भनिन्छ|

कम्प्युटर भिजन सिन्ड्रोमका लक्षण
यो सिन्ड्रोम भएमा धेरै खालका लक्षण देखिन्छन्| सबै मानिसमा सबैखालका लक्षण देखिन्छन् भन्ने हुँदैन| यसरी देखिने लक्षणहरु मानिसले गर्ने काम र कम्प्युटरमा दैनिक बिताउने कुल समयमा पनि भरपर्छ|
१. आँखा थाकेको महसुस हुनु,
२. टाउको दुख्नु,
३. आँखा सुक्खा हुनु, आँसु बग्नु,
४. आँखा चिलाउनु, बिझाउनु, पोल्नु,
५. घाँटी, काँध तथा ढाड दुख्नु,
६. धेरै समय काम गरेपछि धमिलो देखिने र कहिलेकाही एक वस्तुलाई दुई वटा देखिनु,
७. कार्य क्षमता तथा कामप्रती रुची घटेको महसुश हुनु  
८. रातीमा निन्द्रा घटेको महसुश हुनु  

किन हुन्छ कम्प्युटर भिजन सिन्ड्रोम?
ब्लु लाइट : डिजिटल सामग्रीको स्क्रिनबाट आउने प्रकाश अलिक शक्तिशाली हुन्छ, त्यसैले गर्दा ब्लु लाइटलाई हाई इनर्जी भिजिबल लाइट पनि भनिन्छ| ब्लु लाइटसँगको अत्यधिक सम्पर्कले टाउको दुख्ने, आँखा थाक्ने जस्ता लक्षण निम्त्याउँछ| अनुसन्धानलाई आधार मान्ने हो भने ब्लु लाइटले हाम्रो शरीरमा हुने मेलाटोनिन नामक तत्वको मात्रा कम गर्छ, जसले गर्दा निन्द्रा नलाग्ने लक्षण देखिन्छ|

ग्लेर : स्क्रिनबाट आउने अत्यधिक उज्यालोपनले पनि आँखालाई असर गर्छ| यसरी हुने ग्लेरले आँखा थाक्ने, आँखा भारी हुने गराउँछ|

लामो समयसम्म नजिकको काम
कम्प्युटर, मोबाइलको प्रयोग नजिक गरिने काममा पर्छन्| लामो समयसम्म नजिकको काम गर्दा आँखाभित्र र बाहिरका मांसपेसी थाक्ने हुँदा कम्प्युटर भिजन सिन्ड्रोमको समस्या झन् बढेर जान्छ|

आँखा कम झिम्क्याउनु 
सामान्यतया: हामीले औसतमा १५-१६ पटक प्रतिमिनेट आँखा झिम्क्याउँछौं| तर अनुसन्धानलाई आधार मानेर हेर्दा कम्प्युटरको काममा केन्द्रित भएको समयमा हामीले आँखा झिम्क्याउने दर घटेको पाइएको छ| जसले गर्दा आँखा सुक्खा हुने, आँखा चिलाउने, बिझाउने, पोल्ने जस्ता लक्षण देखिन्छन्|

गलत मुद्रामा रहेर काम गर्ने
काम गर्ने वातावरण आफूअनुकूल हुन जरुरी हुन्छ| आफूले काम गर्ने ठाउँमा पर्याप्त मात्रमा उज्यालो भए–नभएको ख्याल गर्नुपर्छ| उज्यालोपन कम वा धेरै भए पनि आँखालाई थकान महसुस हुन्छ | आँखा र स्क्रिनबीचको दूरी, कम्प्युटर स्क्रिन र आँखाको लेवल, आँखामा सिधै पर्ने फ्यानको हावा जस्ता कुरामा ध्यान नदिँदा समस्या झन् बढेर जाने देखिन्छ| यसरी गलत मुद्रामा रहेर काम गर्दा घाँटी, काँध, ढाड दुख्ने तथा कार्यक्षमता घट्ने हुन्छ|

दृष्टिदोष 
दूरदृष्टिो, अदूरदृष्टिकले पनि कम्प्युटर भिजन सिन्ड्रोम हुनुमा भूमिका खेल्छन्| दृष्टिदोषले आँखामा झन् स्ट्रेस बढाउँछ|

कम्प्युटर भिजन सिन्ड्रोमबाट कसरी बच्ने?
– २०-२०-२० नियमको प्रयोग : २० मिनेट काम गरेपछि २० सेकेन्ड विश्राम तथा २० फिट टाढा रहेको कुनै वस्तुलाई केहीबेर हेर्ने|

– ब्लु रेज कट ग्लास वा एआरसी कोटेड चस्माको प्रयोग : यो चस्माको प्रयोगले आँखामा पुग्ने ब्लु रेज न्यूनीकरण गर्नुका साथै ग्लेर पनि कम गर्छ, जसले गर्दा आँखा थाक्ने कम हुन्छ र ब्लु रेजको नकारात्मक असरबाट पनि जोगिइन्छ|

– कृत्रिम आँसु थोपाको प्रयोग : कृत्रिम आँसु थोपाको प्रयोगले आँखा सुक्खा हुन दिँदैन, जसले गर्दा आँखा पोल्ने, बिझाउने, चिलाउने कम हुन्छ| मेडिकलमा पाइने आँसु थोपा चिकित्सकको सल्लाहअनुसार वा कम्प्युटर प्रयोग गर्दा १-१ घन्टाको अन्तरमा प्रयोग गर्न सकिन्छ|

– काम गर्ने वातावरण आफूअनुकूल र सहज बनाउने : तल दिइएका केही बुँदाहरुलाई ध्यानमा राखी आफूले काम गर्ने वातावरण आफूअनुकूल बनाउन सकिन्छ|
क) कोठामा पर्याप्त उज्यालो को प्रयोग गर्ने, 
ख) कम्प्युटरको स्क्रिनको उज्यालोपन र अक्षरको साइज आफूअनुकूल बनाउने,
ग) आँखा र स्क्रिनबीचको दूरी कम्तीमा २५ इन्च राख्ने, 
घ) काम गर्दा आँखामा सिधै पर्ने हावा वा झ्यालढोकाबाट आउने बाहिरी प्रकाशबाट जोगिने,
ङ) कम्प्युटरको स्क्रिन लगभग ३० डिग्री माथितिर ढल्काउने र स्क्रिनलाई आँखाको लेबलभन्दा अलिकति तलै राख्ने,
च)  आफु काम गर्ने टेवल र कुर्सीको उचाइ आफुलाई सहजहुने गरी मिलाउने ,

– रेगुलर आँखा जाँच गराउने : रेगुलर आँखा जाँच गराउँदा आँखाको पावर, आँखाको मांसपेसीको अवस्था, आँखामा आँसुको मात्राको जाँच गराउनुपर्छ| प्रत्येक ६ महिनामा दृष्टि  विशेषाज्ञ वा नेत्ररोग विशेषज्ञद्वारा आँखा जाँच गराउनु उपयुक्त हुन्छ|