पोखरा महानगरपालिका वडा नं. ४ स्थित बाल उद्धार विकास केन्द्रको अध्यक्षमा गोमा कोइराला सुवेदी चयन भएकी छन् । उनले यसअघि गोमा गोदार नेतृत्वको टिममा उपाध्यक्षको भूमिका निर्वाह गरेकी थिइन् ।
उनले सिद्धार्थ टोल विकास संस्था लगायत संघसंस्थाको नेतृत्व गरिसकेकी छन् । बाल केन्दै सञ्चालनमा पनि उनको भूमिका महत्वपूर्ण रहेको वडा कार्यालयले जनाएको छ ।

केन्द्रको उपाध्यक्षमा विष्णु कोइराला, सचिवमा सविता पराजुली, सहसचिवमा रञ्जिता बाँस्तोला, कोषाध्यक्षमा दुर्गादेवी लामिछाने छन् भने कार्यसमिति सदस्यमा सीता गोदार, लक्ष्मी कोइराला, नर्वदा कोइराला, निर्मला लामिछाने, भवानी माकाजु, सरिता पराजुली, सविता कोइराला, संगीता कोइराला, पवित्रा अधिकारी, शर्मिला पराजुली छन् । यस्तै सल्लाहकारमा जानुका कोइराला, शकुन्तला कोइरालाका साथै नवीन माविका प्राचार्य रहेका छन् ।
केन्द्रकी अध्यक्ष गोमा गोदारको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गोमा कोइराला सुवेदीले स्वागत र कोषाध्यक्ष सविता पराजुलीले सञ्चालन गरेकी थिइन् । नयाँ वर्षको शुभकामना आदान प्रदान समेत गरिएको कार्यक्रममा नवीन माविका सहप्राचार्य गौरी पौडेल, वडासदस्य विष्णु परियार र वडासचिव केशव कोइरालाले बोलेका थिए ।
श्रमजीवि मजदुरका बालकहरुको हेरचाह गर्ने उद्देश्यले १९ वर्ष अघि सञ्चालित केन्द्रमा हाल २३ बालकहरु छन् । यसअघि वडा भवनबाटै सञ्चालित केन्द्र वडा भवनमा ठाउँ नभएको भन्दै नवीन माविमा सारिएको छ । केन्द्र वडाकै संरक्षणमा सञ्चालन हुँदै आएको छ ।

बालकेन्द्रका लागि १ शिक्षिका र १ हेरालुको व्यवस्था महानगरपालिकाले गर्दै आएको छ भने बालकहरुका लागि खाजा व्यवस्थापन विभिन्न दाताको सहयोगबाट हुँदै आएको अध्यक्ष सुवेदीले बताइन् । नवनिर्वाचित अध्यक्ष सुवेदीले बाल केन्द्रलाई थप व्यवस्थित बनाएर सञ्चालन गर्ने प्रतिवद्धता जनाइन् ।





