एयरपोर्टका कर्मचारीलाई तालिम दिनुपर्छ : केपी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालप्रति पर्यटकको सकारात्मक दृष्टिकोण बनाउन विमानस्थलका कर्मचारीको व्यवहारमा सुधार ल्याउनुपर्ने बताएका छन् ।

नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिको तेस्रो बैठकलाई बुधबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विमानस्थलका कर्मचारीलाई दम्भ नदेखाउन आग्रह गरे ।

विमानस्थलका कर्मचारीले विदेशी पर्यटकलाई अनावश्यक सोधखोज गर्ने, नियम कानुन भन्दा बाहिर गएर व्यबहार गर्ने गर्दा पर्यटकहरुले नेपालप्रतिको सोचाइ सकारात्मक बनाउन नसक्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘सबभन्दा पहिला एयरपोर्टका अधिकृतहरुलाई तालिम दिनु पर्दछ । उनीहरुलाई दम्भ छोड भन्नुपर्छ’ प्रधानमन्त्री ओलीले भने, ‘देशको इमेज बिग्रने गरी पर्यटकसँग व्यवहार गर्नुभएन । एयरपोर्टमा त नेपालको बारेमा सकारात्मक सन्देश दिएर स्वागत गर्ने हो ।’