सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जनसरकार प्रमुखसहित दुई नेतालाई प्रहरीले पक्राउ गरेको छ ।
नेकपाको बर्दगोरिया गाउँपालिकाका जनसरकार प्रमुख अमर बम र क्रान्तिकारी किसान संघ, कैलालीका अध्यक्ष उदयराज थापालाई प्रहरीले कैलालीबाट पक्राउ गरेको हो ।
उनीहरुलाई कैलालीको बर्दगोरिया गाउँपालिकाको बौनिया बजार नजिकैबाट बुधवार दिउँसो पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेका दुवै नेतालाई प्रहरीले अहिले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखेको छ ।
विप्लव नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाएसँगै प्रहरीले कैलालीमा यसका कार्यकर्ताको खोजी तीव्र पारेको छ । प्रतिबन्धयता विप्लव समूहका पाँच सय हाराहारी नेता–कार्यकर्ता पक्राउ परिसकेका छन् । विप्लव कार्यकर्ता पक्राउका लागि अहिले ७७ वटै जिल्लामा सुरक्षाकर्मीले उच्च निगरानी बढाइरहेको छ ।






