वीर अस्पतालमा सेवा सुचारु गर्न प्रहरी परिचालन

सरकारी चिकित्सकको आन्दोलनका कारण ६ दिनदेखि ठप्प बनेका सरकारी अस्पतालहरुको सेवा सुचारु गर्न सरकारले प्रहरी परिचालन गरेको छ । सरकारले गरेको कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै सरकारी चिकित्सकहरू आन्दोलनमा छन् । 

समायोजनमा सरकारले आफूहरूमाथि विभेद गरेको उनीहरूको आरोप छ । वीर अस्पतालमा बिहानै प्रहरी पुगेर धर्नामा रहेका चिकित्सकलाई हटाएर काउन्टर खुलाएको छ । काउन्टर खुलाएर धमाधम टिकट काटेको थियो । 

सरकारले जबर्जस्ती अस्पताल खुलाए पनि आफूहरूले बिरामी जाँच नगर्ने सरकारी चिकित्सक संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले बताए । उनले धर्ना हटाउने नाममा प्रहरीले चिकित्सकमाथि अभद्र व्यवहार गरेको बताए । सरकारले वार्तालाई भन्दा दमनलाई प्राथमिकता दिएको उनका् आरोप छ ।  

वीर अस्पतालमा सरकारी चिकित्सकबाहेक आधाभन्दा बढी प्रतिष्ठान अन्तर्गतका चिकित्सक कार्यरत छन् । सरकारी चिकित्सकले बिरामी जाँच नगरे पनि सेवा सुचारु हुने प्रशासनले विश्वास गरेको छ ।