चिकित्सकको आन्दोलनले विरामी मारमा

वीर अस्पतालमा उपचारका लागि धाउँदै आएका बिरामीहरुले चिकित्सकहरुले नै आफूहरुलाई सास्ती दिएको भन्दै आपत्ति जनाएका छन्। बुधबार बिहान अस्पतालले नै डाकेर स्वास्थ्य उपचारका लागि पुगेका काठमाडौं बनस्थलीका पाल्साङ तामाङले विरामीलाई अस्पतालमा डाक्ने तर उपचार नगर्ने सरकारी चिकित्सकहरुको रवैयाप्रति आपत्ति जनाएका हुन्। विना सूचना विरामीलाई डाकेर सास्तै मात्रै दिने गरेकोमा अस्पतालका डाक्टरहरुप्रति विरामीहरुको आक्रोश छ। 

उदयपुरबाट आएका चेतबहादुर कार्कीले स्वास्थ्य उपचारका लागि अस्पताल आएको ४ दिन हुँदा उपचार पाउन नसकेको गुनासो गरे। उनले चिकित्सकहरुले विरामीलाई किन दुःख दिएको भन्दै प्रश्न गरे। केही विरामीहरु गरिवीका कारण सरकारी अस्पताल आइयो तर उपचार कहिले हुने भन्ने टुंगो नभएको भन्दै टोलाई रहेका थिए। 

सरकारी चिकित्सकहरुले भने विगत ६ दिन यता अस्पतालको आकस्मिकबाहेकका सेवा बहिष्कार गर्दै आएका छन्। उनीहरुले कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै अस्पतालको आकस्मिक बाहेकका सबै सेवा अवरुद्ध पारेपछि विरामीहरु भने मारमा परेका छन्।