अहिले अष्ट्रेलिया जाने र जान चाहने युवाको लहर छ । पढ्नका लागि जाने भनिए पनि सबैको पहिलो लक्ष्य हुन्छ, गतिलो कमाइ गर्ने । तर, काम गर्न आँटियो र लजाइएन भने परिवारसँगै बसेर विदेशको भन्दा गतिलो नाम र दाम नेपालमै कमाउन सकिन्छ भन्ने उदाहरण पेश गरेका छन्, भरतपुर चितवनका सुशील पण्डितले ।
भरतपुर १० घर भएका सुशील उमेरले ३५ बर्षका भए । ६ बर्ष भयो उनी अष्ट्रेलिया छाडेर स्वदेश फर्किएको । होटल म्यानेजमेन्ट पढेर फर्किएका सुशीललाई उता बस्नु नै थिएन । पढाइ सकिनासाथ उनले अष्ट्रेलियामा बसाइ लम्ब्याउनेबारे एक रत्ति पनि सोचेनन् । नेपाल फर्किएपछि के गर्ने भन्ने टुंगो नभए पनि उनमा भरपुर आत्मविश्वास भने थियो कि ‘पक्कै केही त गर्न सकिन्छ ।’
सुरुमा केही समय छापाखानामा काम गरे । आइडिया फुरिरहेको थिएन । आफूले पढेको क्षेत्रमै केही गर्ने सोच भए पनि अवसर जुट्न सकेको थिएन ।उनी ढिँडो खान कहिलेकाँही गैंडाकोटको थुम्सी पुग्थे । त्यही ढिँडोलाई पनि फरक तरिकाले पस्कन सकिन्छ कि भन्ने सोचमा उनले गृहकार्य गरे ।
आफूले पढेको विषय भएको र रुची पनि त्यतै बढी भएकाले स्तरीय खालको होटल खोल्ने योजना बनाए । तर, अरु भन्दा केही भिन्न गर्ने योजना बुने । उनले आफ्नो होटलमा मौलिक नेपाली खाना र खाजा खुवाउने निधो गरेर २ वर्षअघि थुम्सीमै २ कठ्ठा ५ धुर जग्गा किने । सोही जग्गामा २ करोडको लगानीमा खुल्यो ‘होटल जयश्री ।’
सुरुमा नाम चलेका ढिडो खाने होटलसँग प्रतिस्पर्धा गर्न उनको होटललाई निकै समस्या भयो । तर, धैर्यता गुमाएनन् । पर्खिए, कुरे । विस्तारै उनको ढिडो र लोकल कुखुराको मासु ब्यापार फस्टाउँदै गयो । अझै उनका ग्राहक बढिरहेका छन् ।
सुशीलले फापरको र मिक्स ढिँडो पस्कन्छन् । फापर, कोदो र मकैको पिठो मिसाएर मिक्स गरेर ढिँडो बनाइन्छ ।लोकल कुखुराको मासुसँग स्थानीय रुपमा उत्पादित घ्यू समेत दिने गर्दा उनको होटलको ढिँडोमा ग्राहक पल्किएका छन् । नारायणीको लोकल माछा उनको होटलको अर्को विशेष परिकार हो ।
स्थानीय बासिन्दासहित पूर्व-पश्चिम राजमार्गमा यात्रा गर्ने निजी सवारीका यात्रुहरु, नारायणगढ र भरतपुर क्षेत्र तथा नवलपुरको सिजी धाम जाने र फर्किनेहरुको उनको होटलका ग्राहक हुन् ।
‘काम सानो ठूलो हुँदैन भनेर यो व्यवसायमा आएको हुँ, अहिले मलाई यो व्यवसायमा आएर राम्रो गरेको रहेछु भनेर गर्व लाग्छ,’ सुशील भन्छन्, ‘जे सोचेर यो काम सुरु गरेको थिएँ, त्यो पुगेको छ ।’
उनको होटलले दैनिक ३५ देखि ४० हजारसम्म आम्दानी गर्छ । उनको होटलमा १४ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । कामदार सबैलाई खुसी राख्न १३ महिनाको तलब दिन्छन्, पण्डितले । बिहानैबाट दैनिक १६/१७ घण्टा होटलमा आफू पनि खटिन्छन् ।
उनले शुद्ध र गुणस्तरीय खानाका साथै होटलको सफाइलाई पहिलो प्राथमिकतामा राखेका छन् । होटलमा एउटा झिंगालाई पनि प्रवेश गर्न नदिने गरी उनले संरचना बनाएका छन् । सरसफाइका लागि मात्रै उनले दुई जना कामदार खटाएका छन् । स्वादसँगै होटलको सफाइको पक्षलाई नै ग्राहकले पनि बढी रुचाएका छन् ।
उनको होटलमा शहरिया पारिवारिक समूह बढी पुग्छ । यस्तै भरतपुरका डाक्टरहरु, प्राध्यापक, ब्यापारीहरु पनि उनका प्रमुख ग्राहक हुन् ।
अष्ट्रेलियाबाट स्वदेश फर्किएकोमा उनलाई कुनै पछुतो छैन । होटलमा पाएको सफलताले उनलाई अष्ट्रेलिया बिर्साएको छ । देशभित्र नै केही गर्न सकिन्छ भन्ने प्रमाणित गर्न सकेकोमा सुशील खुसी देखिन्छन् । केही बर्षमा नै होटलको नयाँ आउटलेट भरतपुर वा कावासोतीतिर चलाउने योजना बनाएको उनले सुनाए ।
सुशीलको भनाइमा एक समयमा ढिँडो खानेलाई हेप्ने गरिन्थ्यो । ढिँडोलाई गरीवले मात्रै खाने खानाको रुपमा चिनिन्थ्यो । गाउँघरतिर, भातको रहर बढी हुन्थ्यो, शहरले पनि भात नै रुचाउँथ्यो । अब भातभन्दा ढिँदो रुचाउने जमात बढ्दै गएको छ । भात खाएर वाक्क भएकालाई स्वाद फेर्न ढिँडो भरपर्दो विकल्प बनेको छ ।
गैंडाकोट नगरपालिकाको थुम्सीमा झण्डै ६० वटा यस्ता होटलहरु छन् । यो क्षेत्रमा धेरै होटलले ढिँडो नै खुवाउँछन् । गाउँघरबाट विस्थापित भएको ढिँडो अहिले थुम्सीमा ‘सेलिब्रेटी’ भएको छ । थुम्सीको ढिँडोले धेरैलाई मोहनी नै लगाएको छ । ब्यापार गर्नेहरु पनि थपिँदै गएका छन् ।
नगरपालिकाले ढिँडो ब्यापारलाई व्यवस्थित गर्ने योजना बनाएको नगरपालिकाका मेयर छत्रराज पौडेलले बताए । ‘यहाँ ढिँडो खान आउनेहरुको संख्या ठूलो छ, यसले स्थानीय अर्थतन्त्रलाई फाइदा नै पुग्छ’ पौडेलले भने, ‘होटलहरुलाई व्यवस्थापन गर्दै उनीहरुलाई जिम्मेवार बनाउनेतर्फ सोचेका छौं ।’





