धुवाँको मुस्लो फाल्ने पुराना गाडीलाई नियन्त्रणमा लिन सोच्नु पर्दैन : सर्वेन्द्र खनाल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले धुवाँको मुस्लो फाल्ने गाडीलाई नियन्त्रणमा लिन सोच्नु नपर्ने बताएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ल्याएको ‘उपत्यकाको प्रदुषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापन सुधार कार्ययोजना–२०७५’ लाई शुभारम्भ गर्दै ट्राफिक प्रहरीलाई यस्तो निर्देशन दिएका हुन् ।

‘धुलो र धुवाँको मुस्लो फाल्ने पुराना गाडीलाई नियन्त्रणमा लिन कसैले सोच्नु पर्दैन’, खनालले उपस्थित ट्राफिक प्रहरी कर्मचारीलाई लक्षित गर्दै भने, ‘अब काठमाडौं उपत्यका सफा हुनुपर्छ ।’ उनले अब प्रशासनिक झन्झटमा अल्झेर बसेर नहुने समेत बताए ।

‘यो प्रधानमन्त्रीज्यूको पनि इच्छा र चाहना हो’, उनले भने, ‘गृहमन्त्रालयको गृह प्रशासन सुधार योजना अनुसार पनि यो अभियान थालेका हौं ।’ खनालले यो अभियानमा महानगरपालिका, नगरपालिका, जिल्ला प्रशासन कार्यालयलगायतबाट पनि सहयोग प्राप्त हुने आशा व्यक्त गरे ।

उनले स्थानीय निकायसँग मिलेर सडकको फुटपाथ अतिक्रमण हटाउने कार्य पनि थालिने बताए । ‘अभियान अन्तरगत तयार हुने ट्राफिक एक्सन टिमले यो काम गर्नेछ’, उनले थपे, ‘ट्याक्सी स्ट्याण्ड र बस पिकेट पनि अब व्यवस्थित हुनेछ ।’