प्रथम पचभैया वडा स्तरिय भलिवल प्रतियोगिता बैशाख ५ गते देखि

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ पोखरा महानगरपालिका वडा नं – ३१ मा रहेको प्रगतिशील युवा मन्चले प्रथम पचभैया वडा स्तरिय भलिवल प्रतियोगिता २०७६ , यहि बैशाख ५ गते देखि गर्ने भएको छ ।

पर्यटकीय क्षेत्रबाट विकसित पोखरालाई खेलकुदको मार्फत आन्तरिक पर्यटनको प्रवद्र्धन गर्न र भलिवल खेलको विकास गर्ने हेतुले यहि बैशाख ५ गते देखि ७ गते सम्म प्रतियोगिता आयोजना गर्न लागिएको प्रगतिशील युवा मन्चका अध्यक्ष सुनिल थापाले जानकारी दिएका छन् ।

भलिवल खेलमा विकास पुर्याउने लक्ष्य राखेर गाइघाट( पचभैया) खेल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा ४० टिमले सहभागिता जनाउने अपेक्षा क्लवले गरेको छ भने प्रतियोगिता अबधिभर जम्मा ८ देखि १० हजार जना दर्शक ले हेर्ने अनुमान पनि गरिएको छ । प्रतियोगिताको विजेता टिमलाई क्रमश प्रथम ५०१०५ रुपैया ,द्वितिय ३००५५ रुपैया सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

त्यस्तै प्रतियोगितामा विभिन्न ३ विधाका खेलाडीहरुलाई सम्मान स्वरुप मायाको चिनो र प्रमाण पत्र प्रदान गरिने खेल संयोजक पुरुषोत्तम अधिकारी बताएका छन् । वि स २०६२ सालमा स्थापना भएको उक्त क्लवले प्रतियोगिता सञ्चालनबाट प्राप्त आम्दानीको रकमबाट स्थानीय ठाउँमा रहेको खेल मैदान निमार्ण गर्ने लक्ष्य राखेको छ ।

क्लवले स्थापना काल देखि शिक्षा, स्वास्थ्य तथा वातावरण यूवा तथा खेलकुद महिला तथा बालबालिका क्षेत्रमा कार्य गर्दै आएको छ भने बौद्धिक, अपाड्डता बालबालिका, वृद्धाश्रमको क्षेत्रमा सहयोग र यूवा लक्षित लागु औषध सचेतना कार्यक्रमको साथै खेलकुदको क्षेत्रमा पनि हरेक वर्ष विभिन्न खेलहरु गर्दै आएको छ ।