जेलबाट छुटेको २८ दिनपछि मोटर्सका पूर्वअध्यक्ष कार्लोस पुन:पक्राउ

एजेन्सी– निसान मोटर्सका पूर्व चेयरम्यान कार्लोस घोंस धरौटीमा रिहा भएको २८ दिनपछि पुन: पक्राउ परेका छन् । जापानी मिडियाका अनुसार बिहीबार बिहान उनलाई घरबाटै गिरफ्तार गरिएको हो । 

उनमाथि विश्वासघात गरेकाे र माहोल बिगारेको आरोप लगाइएको छ । २०१८ को नोभेम्बर १९ मा पक्राउ परेपछि उनलाई सशर्त २०१९ को ६ मार्चमा रिहा गरिएको थियो । उनी १०८ दिन जेल बसेका थिए ।

नोभेम्बरमा उनलाई भ्रष्टाचार, निसानको पैसाको निजी प्रयोग र आय कम देखाएकोजस्ता आरोपमा गिरफ्तार गरिएको थियो । तर घोंस सबै आरोप झुट भएको बताउँदै आएका छन् । जापानको कानुनअनुसार आरोपीलाई फरक फरक आरोपमा पटक–पटक पक्राउ गर्न सकिन्छ । यसबाट आरोपीलाई लामो समयसम्म सोधपुछ गर्न अनुमति मिल्दछ ।

यता, कार्लोसले आफूमाथि लगाइएका सबै आरोपहरु गलत भएकाे बताउँदै आएका छन् ।बुधबार उनले ट्वीट गरेर अर्काे हप्ता पत्रकार सम्मेलन गरी सबै सत्यतथ्य कुराहरु सार्वजनिक गर्ने बताएका थिए । कार्लाेसले भनेका छन्, ‘म निर्दोष छु, हार मान्दिनँ, ममाथि लगाएका सबै आरोप गलत छन् ।’