कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य घनश्याम भुसालले संविधानको प्रस्तावना, नीति निर्देशक सिद्धान्तका आधारमा टेकेर समाजवाद निर्माण गर्न सकिने बताएका छन्।
समृद्धि सरोकार केन्द्रले मङ्गलबार बुटवलमा आयोजना गरेको समाजवादको पूर्वाधार र हाम्रो दायित्व विषयक अन्तरक्रियामा उनले विभेद समाप्त पार्दै समन्यायिक समाज बनाएर अगाडि बढ्नुपर्ने बताए।
उनले भने, “नेपाली समाज सहिष्णुपूर्ण छ, निकारागुवा, ब्राजिल, क्युवा, सोभियत सङ्घका अनुभवहरु सिक्दै अगाडि बढ्नुपर्छ।” सहकारीलाई उद्यमसँग जोड्ने नीति बनाएर उत्पादनको क्षेत्रमा लगानी गर्न जरुरी रहेको नेता भुसालको भनाइ छ।
नेता भुसालले नेपाली समाजमा रहेको विविधताबीच एकता र विविधताको समन्यायिक पहिचान रहेको बताउँदै राष्ट्रिय मूल प्रवाहीकरण बलियो बनेको धारणा राखे।
अर्थशास्त्री माधवकुमार पौडेलले पार्टीलाई जनपक्षीय तथा निष्कलङ्क बनाउनुपर्ने धारणा राखे। कार्यक्रममा समृद्धि सरोकार केन्द्रका अध्यक्ष गणेश घिमिरे, लेखक ऋषि आजाद, पर्यटनविद् बलबहादुर आचार्यलगायतले समाजवादमा जान नेपालमा समाजवादी समाज निर्माणका पूर्वाधार पूरा गर्नुपर्ने उल्लेख गरे।






