संघीयताले देशको मेरुदण्ड भाच्न लाग्यो

यो मुलुक जति लथालिंग हुदै गरे पनि, जति आलोचित हुदै आए पनि मुलुक धानेको टिकाएको यहॉको कर्मचारीतन्त्र खासगरी दह्रो निजामति सेवाले नै हो, यसमा भ्रम नपरौं । त्यो मेरूदण्ड अबको संघीयतामा भाचिन लागेको छ । कर्मचारीतन्त्र नै यथार्थमा सरकार वा स्थायी सरकार हुन्छ र अब यो अस्थायी सरकारमा परिणत हुने भीरमा वल्ड्यांगबाजी खॉदैछ । कर्मचारीतन्त्रको भीजन दृष्टिकोण र रणनीति सुन्यमा छ र यसका भिजनरी नेता र संरक्षक कोही दृष्टिगोचर छैनन् ।

भारत स्वतन्त्र भएपछि बल्लभभाई पटेल र नेहरू जस्ता कर्मचारीतन्त्रका भीजनरी नेताले भारतीय कर्मचारीतन्त्रलाई फौलादी तन्त्र वनाएका थिए । नेपालको कर्मचारीतन्त्र स्थापनाका टंकप्रसाद आचार्य नै आजसम्मका अग्रणी भीजनरी नेता हुन् जसको पालामा निजामती ऐन, प्रशासन व्यवस्था ऐन, विकास समिति ऐन जस्ता प्रशासन र विकासका आधारभूत कानुन जारी भई आजसम्म मुलुकले दह्रो कर्मचारीतन्त्र पाएको हो । बहुदल आएपनि यही कर्मचारीतन्त्र निरन्तर ध्वस्त हुदै संघीयतामा पुग्दा आर्यघाट पुग्न लागेको छर्लंग हुदैछ । पशुपतिनाथले मुलुकको रक्षा गरे अर्कै नत्र… कर्मचारीतन्त्रका साथमा अब अरू सबै पनि आर्यघाट जाने दिन धेरै टाढा देखिन्न !

संघीयतामा जसरी कर्मचारीका पचासौं वर्ष अनुभव संस्कृति पद्दति र स्थायित्व भएका संगठनहरू विघठित हुन पुगेका छन् यसले सरकारहरू र जनताले सेवा दिन/लिन हम्मे पर्ने अवस्था टड्कारो देखिदैछ । हिजोसम्म पाईरहेको सेवाको स्तरमा पनि अहिले सेवा पाउन नसके पछि दिक्दारीका कारण सबै नेता र जनताले कसैबाट पनि संरक्षण नपाएका अवस्थामा पुगेका निरीह कर्मचारीहरूलाई दोष दिदै हातपात र कालो मोसो दल्ने अवस्था आउनु अब सामान्य घटना हुनेछ ।

लेखक नेपाल सरकारका पूर्व सचिव हुन्