यो मुलुक जति लथालिंग हुदै गरे पनि, जति आलोचित हुदै आए पनि मुलुक धानेको टिकाएको यहॉको कर्मचारीतन्त्र खासगरी दह्रो निजामति सेवाले नै हो, यसमा भ्रम नपरौं । त्यो मेरूदण्ड अबको संघीयतामा भाचिन लागेको छ । कर्मचारीतन्त्र नै यथार्थमा सरकार वा स्थायी सरकार हुन्छ र अब यो अस्थायी सरकारमा परिणत हुने भीरमा वल्ड्यांगबाजी खॉदैछ । कर्मचारीतन्त्रको भीजन दृष्टिकोण र रणनीति सुन्यमा छ र यसका भिजनरी नेता र संरक्षक कोही दृष्टिगोचर छैनन् ।
भारत स्वतन्त्र भएपछि बल्लभभाई पटेल र नेहरू जस्ता कर्मचारीतन्त्रका भीजनरी नेताले भारतीय कर्मचारीतन्त्रलाई फौलादी तन्त्र वनाएका थिए । नेपालको कर्मचारीतन्त्र स्थापनाका टंकप्रसाद आचार्य नै आजसम्मका अग्रणी भीजनरी नेता हुन् जसको पालामा निजामती ऐन, प्रशासन व्यवस्था ऐन, विकास समिति ऐन जस्ता प्रशासन र विकासका आधारभूत कानुन जारी भई आजसम्म मुलुकले दह्रो कर्मचारीतन्त्र पाएको हो । बहुदल आएपनि यही कर्मचारीतन्त्र निरन्तर ध्वस्त हुदै संघीयतामा पुग्दा आर्यघाट पुग्न लागेको छर्लंग हुदैछ । पशुपतिनाथले मुलुकको रक्षा गरे अर्कै नत्र… कर्मचारीतन्त्रका साथमा अब अरू सबै पनि आर्यघाट जाने दिन धेरै टाढा देखिन्न !
संघीयतामा जसरी कर्मचारीका पचासौं वर्ष अनुभव संस्कृति पद्दति र स्थायित्व भएका संगठनहरू विघठित हुन पुगेका छन् यसले सरकारहरू र जनताले सेवा दिन/लिन हम्मे पर्ने अवस्था टड्कारो देखिदैछ । हिजोसम्म पाईरहेको सेवाको स्तरमा पनि अहिले सेवा पाउन नसके पछि दिक्दारीका कारण सबै नेता र जनताले कसैबाट पनि संरक्षण नपाएका अवस्थामा पुगेका निरीह कर्मचारीहरूलाई दोष दिदै हातपात र कालो मोसो दल्ने अवस्था आउनु अब सामान्य घटना हुनेछ ।
लेखक नेपाल सरकारका पूर्व सचिव हुन्




