गोरखाका साहित्यकार छम गुरुङ गौरी तमु लेखन पुरस्कारबाट सम्मानित हुने भएका छन् । गुरुङ साहित्यिक मञ्च नेपालको दोस्रो स्थापना दिवसमा हुने समारोहमा उनलाई पुरस्कृत गरिनेछ । गौरी मञ्चकी अध्यक्ष हुन् ।
छमलाई १५ हजार ५ सय ५५ रुपैयाँ, दोसल्ला, ताम्रपत्र र भाङ्ग्रासहित सम्मान गरिनेछ । पुरस्कारका लागि १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षय कोष स्थापना भएको छ । छमको पोर्टर बा नामक कविता संग्रह प्रकाशित भएको छ भने नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गर्ने मिथक कोष नामक पुस्तकमा गुरुङ जातिको प्रतिनिधित्व गर्दै खोजमूलक लेख प्रकाशित भएको छ ।
लेखनमा सक्रिय र कम्तीमा १ कृति प्रकाशित भएका लेखकलाई यो पुरस्कार दिने प्रावधान छ । पुरस्कार प्रदानका लागि शान्ति गुरुङको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन भएको थियो ।
मञ्चको दोस्रो स्थापना दिवस चैत २१ गते विविध कार्यक्रम गरी मनाइने अध्यक्ष गौरी तमुले जानकारी दिइन् । सो अवसरमा हुने प्रशिक्षणमा गैरगुरुङहरु पनि सहभागी हुन सक्ने उनले बताइन् ।









