नेपाल र भारतका परराष्ट्र सचिवस्तरीय बैठक सुरु

नेपाल र भारतका परराष्ट्र सचिवस्तरीय बैठक काठमाडौँमा सुरु भएको छ । भारतीय विदेश सचिव विजय केशव गोख्ले आज नेपाल आउनासाथ परराष्ट्र सचिवस्तरीय बैठकमा सहभागी भएका छन् ।

विदेश सचिव गोख्ले नेपालको दुईदिवसीय औपचारिक भ्रमणमा आजै काठमाडौँ आएर आफ्ना नेपाली समकक्षी शङ्करदास वैरागीसँग भारत–नेपाल सम्बन्धका सबै पक्षमा विचारविमर्श गर्न लागेका हुन् ।

त्यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतका नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ । अहिले जारी परराष्ट्रसचिव स्तरीय बैठकमा भारतको सहयोगमा सुरु भएका परियोजनाका बारेमा पनि छलफल हुने बताइएको छ ।

जसमा रेलवे, जल यतातयात, भूकम्प पछिको पुननिर्माण, अरुण तेस्रो, पञ्चेश्वर परियोजना, माथिल्लो कर्णाली लगायतका विषय रहेका छन् ।

करीब १५ महीनाअघि विदेश सचिवमा नियुक्त गोख्लेको यो पहिलो औपचारिक भ्रमण हो । भारतको विदेश सचिवमा नियुक्त भएपछि पारस्परिक विषयमा छलफल गर्न नयाँ दिल्लीबाट उच्च कूटनीतिक अधिकारीले नेपाल भ्रमण गर्ने परम्परा छ ।

सचिव गोख्लेका साथ सहसचिव सुधाकर दलेला पनि सहभागी छन् ।