पोखरा–४ स्थित शुभकामना महिला विकास केन्द्रले मंगलबार रक्तदान कार्यक्रम आयोजना गर्यो । केन्द्रको यो १५औं रक्तदान कार्यक्रम हो । कार्यक्रमबाट ४२ युनिट रगत संकलन भएको छ ।
संस्थाका सल्लाहकार गणेश छवीलाई ब्लड व्याग हस्तान्तरण गरेर डा. कुशल श्रेष्ठले कार्यक्रम उद्घाटन गरे । गणेश छवीको यो रक्तदान ५२औं पटक हो ।

उक्त अवसरमा प्रमुख अतिथि डा. श्रेष्ठले रक्तदान जत्तिको महत्वपूर्ण र पवित्र कार्य अन्य नहुने स्पष्ट पारे । उनले रगतको महत्व र आवश्यकता सबैलाई बुझाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सल्लाहकार गणेश छवी, बगालेटोल झिँ नेवा : गुठीका अध्यक्ष एवं समाजसेवी भक्तराज श्रेष्ठ, निवर्तमान अध्यक्ष भवानी माकाजु, समृद्धि लायन्स क्लबका अध्यक्ष कुश्मा राणा, नमूना आमा समूहकी सचिव प्रेमकुमारी पराजुली, संस्थाकी पूर्व अध्यक्ष राधिका थापा, फोटो ग्राफर संघका अध्यक्ष रवी दाहाल, सिद्धार्थ टोल विकास संस्थाका अध्यक्ष सम्झना माकाजू, बगालेटोल मिसा पुचःकी अध्यक्ष शान्ता श्रेष्ठ लगायतले बोलेका थिए ।

संस्थाकी अध्यक्ष कौशिला गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष सुमिता श्रेष्ठ र सञ्चालन सचिव निर्मला लामिछानेले गरेकी थिइन् । संस्थाकी कार्यसमिति सदस्य रजनी श्रेष्ठको संयोजकत्वमा भएको कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय रक्तसञ्चार केन्द्रले प्राविधिक सहयोग गरेको थियो ।
पोखरामा रगत अभाव
पोखरामा हाल रगतको अभाव भएको छ । रगतको माग बढे पनि सोही अनुसार रक्तदान कार्यक्रम नहुँदा हाल पोखरामा रगतको अभाव भएको हो । क्षेत्रीय रक्त संचार कार्यालय पोखराका प्रमुख ध्रुवमणि लामिछानेका अनुसार पोखरामा विगत केही दिनदेखि ए र ओ पोजिटिभ रगतको अभाव भएको हो ।
ए.बी. र बी पोजिटिभ रगत भने केही मात्रमा रहेको प्रमुख लामिछानेले बताए । उनका अनुसार पोखरामा हाल दैनिक जसो ६० देखि ७० युनिट रगतको माग रहेको छ । पोखरामा हिजोआज दैनिकजसो ३५ देखि ४० युनिट रगत संकलन हुने गरेको प्रमुख लामिछानेले जनाए ।
पोखरामा सोमबार ७४ युनिट, मंगलबार ४२ युनिट रगत संकलन भएको उनले बताए । पोखरा क्षेत्रका करिब २२ वटा हस्पिटलमा केन्द्रबाट रगत खापूर्ति हुने गरेको प्रमुख लामिछानेले बताए । पोखरामा बढी रगत संकलन हुँदा चितवन पठाउने गरिएकोमा यतिबेला पोखरामै रगतको अभाव भएको उनले बताए ।
सिद्धार्थ क्लब र रेडियो अन्नपूर्ण तयारीमा
पोखराको सिद्धार्थ क्लब र रेडियो अन्नपूर्णले पनि रक्तदान कार्यक्रम आयोजना गरेका छन् । पोखरामा रगतको अभावलाई मध्येनजर गर्दै तथा नियमित कार्यक्रम अन्तर्गत यी दुवै संस्थाले कार्यक्रम आयोजना गरेका हुन् ।
सिद्धार्थ क्लबको १४ गते बिहीबार र रेडियो अन्नपूर्णको १६ गते शनिबार कार्यक्रम हुँदैछ । सिद्धार्थ क्लबले पोखराको मानअधिकारचोक, चिप्लेढुंगा र रेडियो अन्नपूर्णले रेडियोकै प्राङ्गण गैह्रापाटनमा कार्यक्रम आयोजना गर्दैछन् ।




