सहरी विकास मन्त्रालय घेराउ गर्न सिंहदरबारको दक्षिणी गेट पुगेका इन्जिनियरमाथि प्रहरीले लाठी प्रहार गरेको छ। सरकारले सेवा, सुविधावापतको रकम कटौती गरेको विरोधमा आन्दोलनरत पुनर्निर्माणमा खटिएका इन्जिनियरले मंगलबार निषेधित क्षेत्र सिंहदरबारको दक्षिणी गेटस्थित सहरी विकास मन्त्रालय घेराउ गर्न खोजेपछि प्रहरीले लाठी चार्ज गरेको हो।
प्रहरीको लाठी चार्जबाट आधा दर्जन बढी इन्जिनियर घाइते भएका छन्। आफूहरुको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले लाठी चार्ज गरेकोमा इन्जिनियरले आपत्ति जनाएका छन्।
पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले सेवा, सुविधा वापतको रकम कटौति गर्ने सरकारले निर्णय गरेपछि त्यसको विरोधमा एक साता यता पुनर्निर्माणको काम छोडेर काठमाडौंमा आन्दोलन सुरु गरेका छन्।
उनीहरुले खाईपाइ आएको सुविधा वापतको रकम कटौती नगर्न सरकारसँग माग गर्दै आन्दोलनलाई निरन्तरता दिएका हुन्। इन्जिनियर बरालले पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुको स्वास्थ्य विमा र दुर्घटना विमाको पनि व्यवस्था गर्न सरकारसँग माग गरिन्।
भूकम्पपछिको पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले आफूहरुलाई दिँदै आएको सेवा सुविधा कटौति गर्ने निर्णय फिर्ता नलिए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिँदै आएका छन्।






