भारतका सबैभन्दा उत्कृष्ट बलर घाइते

भारतका अहिलेका सबैभन्दा उत्कृष्ट र प्रमुख बलर जसप्रित बुमराह घाइते भएका छन् । गएराती भएको मुम्बइ इण्डियन्स र दिल्ली क्यापिटल्सबीचको आइपिएल खेलको क्रममा उनी घाइते भएका हुन् । उी घाइते हुँदा मुम्बइ इण्डियसलाई झट्का लागेको छ किनकि उनी मुम्बइको बलिङ विभागमा मुख्य बलर हुन् । यतिमात्र होइन उनी घाइते हुँदा भारतको राष्ट्रिय टिम पनि समस्यामा पर्न सक्छ । 

आइपिएल लगत्तै विश्वकप हुँदैछ । विश्वकपमा भारतीय राष्ट्रिय टिमका मुख्य बलर पनि बुमराह नै हुन् । विश्वकपलाई मध्यनजर गर्दै भारतका कप्तान विराट कोहलीले यसअघि नै विश्वकप खेल्ने खेलाडीलाई आइपिएलका पछिल्लो खेल नखेली आराम गर्न र विश्वकपको तयारी गर्न सुझाव दिएका थिए । यस्तोमा बुमराह घाइते हुनु भारतको लागि शुभ संकेत होइन । बुमराह भारतको टिममा सबैभन्दा माथिल्लो ए प्लस श्रेणीका एकमात्र बलर हुन् । ए प्लस श्रेणीमा बुमराहसँगै कप्तान विराट कोहली र उपकप्तान रोहित शर्मा मात्र छन् । 

गएराति दिल्ली क्यापिटल्सविरुको पहिलो इनिङमा बुमराह अन्तिम ओभर बलिङ गर्न आएका थिए । अन्तिम ओभरको अन्तिम बल बुमराहले ऋषभ पन्तलाई फालेका थिए जसमा पन्तले सिधै बलरतर्फ शट खेले । सोही बल रोक्ने क्रममा बुमराहको काँधमा चोट लाग्यो । उनी पीडाले आत्तिएको प्रस्ट देखिन्थ्यो । तत्कालै उनलाई बाहिर लिएर उपचार सुरु भयो । मुम्बइ इण्डियन्सको ब्याटिङ सुरु भएपछि खेलका कमेन्टेटर संजय मांजरेकरले बुमराह ठिक भएको बताएका थिए तर मुम्बइको ९ औं विकेट गएपछि अन्तिम ब्याट्सम्यानको रुपमा बुमराह ब्याटिङ गर्न आएनन् ।

बुमराह ब्याटिङ गर्न नआउनुको अर्थ हो, उनी ठिक भएका छैनन् । यद्यपि उनको चोट कत्तिको गम्भीर हो र उनी कहिलेसम्म मैदानबाहिर रहनुपर्ने हो भन्ने विषयमा आधिकारिक जानकारी भने सार्वजनिक भएको छैन ।