सरकारको प्रतिबन्धसँगै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकपछि अर्को झट्का लाग्न थालेको छ ।
तेस्रो वरियताका नेता हेमन्तप्रकाश वलीसहित नौं कार्यकर्ता पक्राउ परेको लगतै फेरि विप्लव माओवादीका कोशी व्यूरो इञ्चार्ज घनश्याम श्रेष्ठ (पुस्कर) सहित २ जना पक्राउ परेका छन् । श्रेष्ठसँगै आकाश शर्मा मोरङबाट पक्राउ परेका हुन् । श्रेष्ठ र शर्मा पक्राउ परेको प्रहरीले भने पुष्टि गरेको छैन । यसको विस्तृत विवरण आउन अझै बाँकी छ ।
यसअघि प्रहरीले नेकपाको मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओलीसहित ९ जनालाई पक्राउ गरेको थियो ।
घनश्याम श्रेष्ठ माओवादी जनयुद्धका बेला ब्यूरो सदस्य थिए । शान्ति प्रक्रियामा आएपछि उनले मिर्मिरे एफएमको प्रशासनिक जिम्मेवारी समेत सम्हालेको जनाइएको छ । सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएको दुई साताभित्रै दुई दर्जन बढी नेता कार्यकर्ता पक्राउ परिसकेका छन् ।






