कार्यसूचिसँग केन्द्रित भएर छलफलमा भाग लिन दाहालको निर्देशन

संघीय संसदको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले कार्यसूचिसँग केन्द्रित भएर छलफलमा भाग लिन समितिका सदस्यहरुलाई निर्देशन दिएका छन्।

समितिका सभापति दाहालले कार्यसूचिसँग सम्बन्धित भएर समितिका सदस्यहरुले छलफलमा भाग नलिएकै कारण समितिको कार्य क्षमतामाथि प्रश्न उठने गरेको उल्लेख गर्दै आवश्यक सूचना र सम्बन्धित विषयको तथ्यांकसहित बैठकमा प्रस्तुत हुन पनि समितिका सदस्यहरुलाई सचेत गराए।

आईतबार सिंहदरबारमा बसेको समितिको बैठकमा उनले बैठकमा आउने समयको ख्याल गर्न पनि समितिका सदस्यहरुको गम्भिर ध्यानाकर्षण गराए। सभापति दाहालले बजेट कार्यान्वयनका विषयमा दिइएको निर्देशन पालना नगरेको भन्दै सरकारप्रति पनि असन्तुष्टि व्यक्त गरे।

समितिका सदस्यहरुको अनुपस्थितिका कारण बैठक स्थगित हुने अवस्था आउन दिन नहुने सभापति दाहालको भनाई छ।