राष्ट्रिय जनता पार्टीले पूर्व न्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दे प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ।
संघीय संसद प्रतिनिधिसभाको आइतबारको बैठकको सुरुमै राष्ट्रिय जनता पार्टीका सांसदले प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उभिएर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले बैठक १० मिनेटको लागि स्थगित गरे। गत बुधबारको बैठकमा पनि राजपाका सांसदले मधेस आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवदेन सार्वजनिक गर्न माग गर्दे उभिएर विरोध गरेका थिए।
लगत्तै सभामुखले त्यसबारे सरकारलाई रुलिङ गरेका थिए। आइतबारको बैठकमा राजपाका सांसद लक्ष्मणलाल कर्णले सरकारले संसदको निर्देशन कार्यान्वयन नगरेको भन्दै संसदको मातहतमा सरकार छ कि छैन? भनी प्रश्न गरे।
‘ यो सरकार संसदबाट बनेको हो कि होइन? यो संसद मातहत सरकार हो कि होइन?,’ उनले भने, ‘संसदले बनाएको सरकार हो कि होइन? यदि संसदले बनाएको सरकार हो र सरकार संसदप्रति जिम्मेवार छ भने सभामुखले ध्यानाकर्षण गराउँदा पनि स्वयम् संसदबाट सभामुखले गरेको ध्यानाकर्षण पनि ठूलो हो। संसदको आदेश र निर्देशनलाई पनि नमान्ने? सरकारले अहिले सम्म पनि प्रतिवेदन सार्वजनिक नगरेका कारणले यो प्रतिवेदन सार्वजनिक नभएसम्म हामीले संसद चल्न दिन्नौं। हामीले संसद अवरोध गर्छौं।’






