एक प्रदेश सांसदका छोरा १४ दिनदेखि काठमाडौंको नयाँ बानेश्वरबाट वेपत्ता भएपछि खोजी कार्य तीब्र बनाइएको छ ।
सुदुरपश्चिम प्रदेशका सांसद अफिलाल ओखेडाको छोरा सागर शर्मा (ओखेडा) १४ दिनदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ ।
काठमाडौंको नयाँ बानेश्वरस्थित रत्नराज्य स्कुल पढ्ने १६ वर्षीय सागर फेला नपरेको भन्दै सांसद ओखेडा अहिले छोराको खोजीका लागि दिनहुँजसो महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखामा धाइरहेका छन् । प्रहरीले सागरको खोजी कार्य थालिसकेको भए पनि अहिलेसम्म कुनै जानकारी नमिलेको बताएको छ ।
नेकपा बझाङका नेता ओखेडाले छोरा खोजीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी समेत दिएका छन् । उजुरीका आधारमा प्रहरीले खोजी गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले जानकारी दिएका छन् ।
फागुन १८ गते फोन स्वीच अफ गरेर सम्पर्कविहीन भएका सागर रत्नराज्य स्कुलमा कक्षा १० मा पढ्दै आएका थिए । एसइई परीक्षा नजिकै आएको अवस्थामा परिवारले राम्रोसँग परीक्षाको तयारी गर्न सुझाएपछि उनी सम्पर्कविहीन भएको बताइएको छ ।
सन्की स्वभावका सागरलाई सांसद ओखेडाले ‘स्कुल किन नगएको ?’ भन्दै हप्काएका थिए । बावुले हप्काएपछि सागरले फागुन १६ गते अमेरिकी दूतावासमा फोन गरेर ‘अमेरिका जान कत्ति पैसा लाग्छ’ भनेर सोधेको जनाइएको छ ।
त्यसपछि फोन अफ गरेर हिंडेका सागर परिवारको सम्पर्कमा छैनन् । प्रहरीले खोजी जारी राखे पनि उनी फेला पर्न नसकेको बताइएको छ । सागरले चलाउँदै आएको मोवाइल सोही दिनदेखि अफ रहेको परिवारजनले जनाएका छन् ।






