न्यूजिल्याण्डमा दर्जनौंको हत्या भएको खुलासा

एजेन्सी । न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा भएको गोलीबारीमा थुप्रै हताहत भएको पुलिसले जानकारी दिएको छ ।

डेली मेलको रिपोर्ट अनुसार २८ वर्षे अष्ट्रेलियाली नागरिक मानिएका एक व्यक्तिले अन्धधुन्ध गोली चलाई २७ जनाको हत्या गरेका छन् । प्रहरीले यसबारे आधिकारिक संख्या दिएको छैन् ।

प्रत्यक्षदर्शीले ती बन्दुकधारीले क्राइस्टचर्चस्थित अल नुर मस्जिदमा ५० सट गोली हानेको र उनीसँग सेमी–अटोमेटिक सटगन र राइफलसमेत भएको बताएका छन् ।

ती बन्दुकधारीले अल नुर मस्जिदभित्र लाइभ–स्ट्रिम गर्दै अन्धधुन्ध गोली चलाएका थिए । घटना नेपाली समयअनुसार शुक्रबार बिहान सवा ६ बजेको हो ।

डेली मेल अष्ट्रेलियाको एउटा भिडियोमा एक व्यक्तिले भागिरहेका मानिसहरुमाथि दर्जनौं पटक गोली चलाइरहेको देख्न सकिन्छ । एक अभियुक्तलाई पक्राउ गरिएको छ तर ती बन्दुकधारी नै हुन् भन्ने पुष्टि भइसकेको छैन् ।

साथै, लिनवुड मस्जिद नजिकै पनि बन्दुक चलेको आवाज सुनिएको बताइएको छ । उक्त मस्जिदभन्दा तीन किलोमिटर टाढा कारभित्र बमसमेत फेला परेको डेली मेलले बताएको छ ।

न्यूजिल्याण्डको भ्रमण गरिरहेको बंगलादेश क्रिकेट टिमका खेलाडीले ट्वीटरमा आफूहरु गोलीबारीमा सुरक्षित बच्न सफल भएको जानकारी दिएको छ ।मस्जिदभित्र गोली चलेपछि बंगलादेशी टोलीलाई केहीबेर बसभित्र राखिएको थियो ।

पछि उनीहरू बसबाट झरेर भागेका थिए। त्यसपछि उनीहरू नजिकैको हाग्ली पार्कमा भेला भए ।अहिले बंगलादेशी टोलीका खेलाडी, प्रशिक्षक र अन्य सदस्यलाई होटलको कोठाभित्र राखिएको छ ।उनीहरूले शनिबार न्युजिल्याण्डको अन्तिम टेस्ट म्याच खेल्ने र नखेल्ने अन्यौल भएको छ ।