राजपाले समर्थन फिर्ता लिनु खुसीको कुरा होः केपीओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिनु खुसीको कुरा भएको बताएका छन् ।

अकारण अदालतको फैसलाको विषयलाई लिएर घुर्क्याउने, धम्क्याउने काम राजपाले गरेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले सरकारले राजपाका लागि गर्न सक्ने जति सबै काम गरेको बताए ।

‘अकारण अदालतको फैसलाको विषयलाई लिएर घुर्क्याउने, धम्क्याउने ? जो उचित होइन । सरकारले गर्ने जति काम गरेको छ । उहाँहरूसँग कुनै सम्झौता गरेर तोडिएको त होइन । सरकारको तर्फबाट सक्दो गरिएको हो,’ प्रधानमन्त्रीले भने, ‘उपचार खर्च दिएन कि । जेलबाट छुटाइएन कि । बाँकी वक्यौता कहिले कहिलेका हुन् तिरिएन की ! सपथ ग्रहण नगराएकालाई गराइएन की सबै त गरेको छ ।’

राजपा नेताहरुलाई सुरक्षा र सम्मानसमेत दिएको प्रधानमन्त्रीले बताए। ‘उहाँहरुलाई सुरक्षा सम्मान दिइएन कि त्यो पनि गरेकै छ,’ प्रधानमन्त्री ओलीले भने ।

अदालतले तथ्य र प्रमाणका आधारमा कानुन बमोजिम गरेकोले रेशम चौधरीका बारेमा सरकारले केही गर्न नसकेको उनको भनाइ छ ।

‘स्वतन्त्र न्यायालयले तथ्य प्रमाणका आधारमा कानूनबमोजिम फैसला ग‍र्यो । त्यो सरकारका हातमा हुने कुरा होइन । अब उहाँहरुले सरकारका विरुद्ध धेरै आरोपहरु, थोत्रा पुराना खिया लागेका, मक्काएका, पात झरेका, जरा सुकेका डाक्ला सुकेका अनेक प्रकारका आरोपहरुसहितको एउटा फेहरिस्त आरोप पत्र सिर्जना गर्नुभएको छ । सम्झिएजति र समर्थन फिर्ता लिएको घोषणा गर्नुभएको छ,’ प्रधानमन्त्रीले भने, ‘समर्थन फिर्ता लिनुपर्ने कारण थिएन लिनुभयो त्यो खुसीको कुरा हो । खुसीको कुरा हो । कसैले समर्थन गर्न नि पाइन्छ फिर्ता लिन नि पाइन्छ । जबरजस्ती गर्न सकिन्न ।’

राजपाले समर्थन फिर्ता लिएर धाकधक्कु लगाएको प्रधानमन्त्रीको आरोप छ । ‘एकपटक अलिअलि भोट आए प्रदेशमा सिट आए । भनेर सधैं यही हुन्छ भन्ने नठान्नु,’ प्रधानमन्त्रीले चेतावनी दिँदै भने, ‘फेरि चुनाव आउँछ। बरु यस्तो राजनीतिभन्दा आउनुहोस् विकास निर्माणमा मिलेर अगाडि बढौं । सरकार त तराइ मधेशको विकासका लागि कृतसंकल्पित छ ।’

प्रधानमन्त्रीले मधेश केन्द्रीत दललाई राष्ट्र निर्माणमा सहयात्रा गर्न आव्हान पनि गरे । प्रदेश नम्बर २ सरकारले ‘बेटी बढाउँ, बेटी बचाउ’ नारासहित अभियान सुरु गरेकोमा आफूले समर्थन गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।