इनार खन्ने क्रममा पुरिएका माझीको शव १दिनपछि निकालियो

चन्द्रागिरी नगरपालिका–१२ मा इनार खन्ने क्रममा माटोको ढिस्को झरेर पुरिएका राम माझीको  शव २६ घन्टापछि निकालिएको छ । सिन्धुलीका ३५ वर्षीय माझी आइतबार साँझ घरको इनार खन्ने क्रममा माटोको ढिस्कोले पुरिएका थिए । 

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार इनारको रिङ हाल्ने क्रममा आइतबार माटोको ढिस्को खसेर पुरिएका माझीको शवलाई सोमबार राति मात्र मृत अवस्थामा निकालिएको हो ।  

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले ३० फिट तलबाट माझीको शव निकालेर परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ ।