बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘प्रधानमन्त्रीजीको भनाइ छ, म हेरिरहेको छु, दुई अध्यक्षको बीचमा सामान्य सल्लाह गरेर गर्नैपर्यो भने केही हेरफेर हुनसक्छ । तर, अहिले हतार छैन् ।’
प्रचण्डले थपे, ‘मन्त्रीहरुको काम र क्रियाकलापको विषयमा तपाईं (प्रधानमन्त्री) ले मूल्यांकन गर्नुभएको होला । तपाईंको अधिकार क्षेत्रभित्रको कुरा भएकोले आवश्यक मूल्यांकनका आधारमा छलफल गरेर हेरफेर गर्न सकिन्छ भनेर मैले प्रधानमन्त्रीज्यूलाई भनेको छु ।’
संघले प्रदेशलाई अधिकार दिएन भन्ने आरोप छ नी भन्ने प्रश्न अध्यक्ष प्रचण्डले भने, ‘संविधानको मर्म र भावना अनुसार काम गर्ने हो । संघले अधिकार दिने र खोस्ने कुरा नै होइन । संविधान अनुसार नै कामहरु हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’
सिके राउतको प्रसंगमा बोल्दै प्रचण्डले पहिले लिएका नीतिहरु छोड्ने सर्तमा नै राउतँग ११ बुँदे सहमति भएको बताए । उनले भने, ‘सरकार र पार्टीको ध्यान भनेको पृथकतावादी आन्दोलनमा लागेका साथीहरुलाई मुलधारको राजनीतिमा ल्याउने र संविधानको मातहतमा ल्याउने काम हो ।
त्यही प्रक्रिया अर्न्तगत रहेर स्वतन्त्र मधेस आन्दोलनका अगुवा राउतसँग सहमति भएको हो । उहाँलाई आफ्ना कार्यकर्तालाई सम्झाउन समय लागेको होला । यस विषयमा हतार गर्न जरुरी छैन। सरकारले राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र स्वाधिनताका विषयमा कसैसँग सहमति गर्दैन ।’






