कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाद्वारा आयोजित भायनेट क्यान इन्फोटेक–२०१९ सकिएको छ ।
फागुन २० गते सुरु भएको मेला शनिबार गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले समापन गरे । उनले समृद्धिका लागि प्रविधि र दक्ष जनशक्ति अपरिहार्य भएको बताए । दक्ष जनशक्ति विदेश पलायनलाई रोक्दै समृद्धि र रोजगारी हासिल गर्ने बाटोमा गण्डकी सरकार लागेको बताए ।
सर्वसाधारणलाई नयाँ प्रविधि र उत्पादनबारे बुझाउन मेला सफल भएको क्यान कास्की अध्यक्ष युवराज पौडेलले बताए । कम्प्युटर तथा सूचना प्रविधिसम्बन्धी भएका अत्याधुनिक एवं नवीनतम प्रविधिको जानकारी दिंदै ग्रामीण क्षेत्रसम्म यसको पहुँच पु¥याउन मेला सफल भएको उनको दाबी छ । इन्फोटेकमा बृहत सूचना प्रविधि प्रदर्शनी, प्रदेश स्तरको टाइपिङ प्रतियोगिता, आइटी क्विच कन्टेस्ट, कम्प्युटर तथा ल्यापटप निशुल्क मर्मत, ल्यापटप एक्सचेन्ज अफर, आइसिटी क्षेत्रमा स्थानीय स्तरबाट गरिएका उत्पादनको प्रदर्शनी तथा अन्य आइसिटीसँग सम्बन्धित नवीनतम गतिविधि प्रदर्शनी, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं नवीनतम प्रविधिका मोबाइलको प्रदर्शनी एवं बिक्री वितरण गरिएको थियो ।
इन्फोटेकमा सूचना, प्रविधिसँग सम्बन्धित १ सयभन्दा बढी स्टल थिए । इन्फोटेकको मुख्य प्रायोजन भायानेटले गरेको छ । इन एसोसिएसन विथमा आइ.एम.इ.पे, सपोेर्टेड बाइमा कंगारु एजुकेसन, डाइमन्ड स्पोन्सरमा डिजिकम र जेरक्स, होटल पार्टनरमा होटल मुनस्टोन, एजुकेसन सपोर्टमा ओम डेभलपमेन्ट बैंक र इन्फरम्याटिक्स कलेज, इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स, आइटी सेक्युरिटी पार्टनरमा टिपी लिंक टे«डर्सले साथ दिएको छ ।




