अर्जेन्टिनी राष्ट्रिय टिममा मेसीको पुन फर्किए

लियोनेल मेसी अर्जेन्टिनी राष्ट्रिय फुटबल टिममा फर्किएका छन् ।

सन् २०१८ को विश्वकप पछि राष्ट्रिय टिमबाट नखेलेका मेसीलाई भेनेजुयला र मोरक्कोविरुद्धको मैत्रीपूर्ण खेलका लागि टिममा समावेश गरिएको छ । अर्जेन्टिनाले यहि मार्च २३ मा भेनेजुएला र मार्च २७ मा मोरक्कोसँग मैत्रीपूर्ण खेल खेल्दै छ ।

बार्सिलोनाका स्ट्राइकर ३१ वर्षे मेसीले पछिल्लो ६ वटा मैत्रीपूर्ण खेलमा टिमबाट बाहिर रहेका थिए । 

रसिया विश्वकपमा अन्तिम १६ बाट अर्जेन्टिना बाहिरीएपछि मेसी राष्ट्रिय टिमको जर्सीमा देखिएका थिएनन् । मेसीसँगै पिएसजीका मिडफिल्डर एन्जेल डी मारीयालाई पनि टिममा बोलाइएको छ । उनले पनि रसिया विश्वकपपछि राष्ट्रिय टिमबाट खेलेका थिएनन् ।

आसन्न दुई वटा मैत्रीपूर्ण खेलका लागि अर्जेन्टिनाका  प्रशिक्षक लियोनेल स्कालोनीले प्रिमियर लिग खेल्ने ४ खेलाडीलाई टिममा राखेका छन् । जसमा म्यानचेस्टर सिटीबाट खेल्ने निकोलस ओटामेन्डी, टोटनहमबाट खेल्ने हुवान फोयथ, वाटफोर्डबाट खेल्ने रोबेर्टो पेरीरा,  वेष्टहामबाट खेल्ने मानुयल लान्जीनी रहेका छन् ।

त्यस्तै इन्टर मिलानबाट खेल्ने फरवार्ड माउरो इकार्डीको नाम अहिले पनि टिमबाट समावेश गरिएको छैन । यस्तै म्यानचेस्टर सिटीबाट खेल्ने सर्जिया अग्युरो र चेल्सीबाट खेल्ने गोञ्जालो हिगुइन पनि टिममा परेका छैनन् ।