प्रधानमन्त्री ओली र सिके राउतको संयुक्त पत्रकार सम्मेलन

सिके राउतले छुट्टै मधेस देशको अभियान बन्द गर्ने भएका छन् । राउतले नेपालको अखण्डता स्वीकार्दै आफुले चलाएको छुट्टै मधेश देश बनाउने अभियान बन्द गर्न सहमत भएका हुन् ।

यसको औपचारिक घोषणा शुक्रबार दिउँसो १ बजे हुने बालुवाटार स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सिके राउतले आज राष्ट्रिय सभागृहमा विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् ।

राउतसँग दुई महिनाभन्दा बढीदेखि भएको वार्तापछि उनी स्वतन्त्र मधेसको अभियान छोड्न राजी भएका हुन् ।

हिजोमात्र राज्य विप्लवको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राउतलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो ।

उक्त आदेशको भोलिपल्टै राउतले प्रधानमन्त्रीको उपस्थितिमा आफ्नो अभियान छोडेको घोषणा गर्न लागेका हुन् । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को यस विषयमा निर्णय गर्न सचिवालय बैठक बालुवाटारमा बस्न लागेको बताइएको छ ।