स्वयम्भुका स्थानीयले सशस्त्रका एक सहायक हवल्दारलाई नियन्त्रमा लिएर प्रहरीलाई बुझाएका छन् ।
मादक पदार्थ सेवन गरी अपरिचत व्यक्तिको घरमा छिरेका सशस्त्र प्रहरी बलका एक कर्मचारीलाई स्थानीयले नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएका छन् । सशस्त्र प्रहरीका सहायक हवल्दार शंकर श्रेष्ठ मासपे गरेर स्थानीय दामोदर ढुङ्गानाको घरमा छिरेपछि चोर भएको आशंकामा उनीहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।
महानगरीय प्रहरी वृत्त, स्वयम्भु लैजाने क्रममा स्थानीयले उनको साथमा गएको परिचय पत्र पनि फेला पारेपछि उनी सुरक्षाकर्मी भएको खुलेको जनाइएको छ । स्वयम्भुका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुधीरराज शाही भन्छन्, ‘अहिले उपचारका लागि उहाँलाई ट्रमा सेन्टरमा लगिएको छ ।’
स्थानीयका अनुसार मानिसहरुको भिड जम्मा भएपछि श्रेष्ठ घरमाथिबाट हाम फालेका थिए । त्यसक्रममा उनी घाइते भएका हुन् । स्वयम्भु वृत्तका प्रहरी अधिकारीहरुसँग बयान दिने क्रममा उनले आफू साथीको घर भनेर छिरे भए पनि गलत ठाउँ परेको बताएका छन् । थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।






