सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको विद्यार्थी संगठन अखिल र क्रान्तिकारीले शिक्षाजस्तो संवेदनशील क्षेत्रमा पटकपटक स्वतः स्थायीको माग राखेर आन्दोलन गरिनु दुःखद् भएको बताएका छन्।
मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै दुवै विद्यार्थी संगठनले शैक्षिक सत्रको उत्तरार्धमा शिक्षकहरुले कक्षाकोठा छोडेर सुरु गरेका आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। ‘राहत शिक्षकहरुको स्वतः स्थायीको माग शिक्षा क्षेत्रको लागि घातक रहेको हाम्रो निश्कर्ष छ ।
शिक्षा जस्तो संवेदनशील क्षेत्रमा पटकपटक स्वतस् स्थायीको माग गरेर आन्दोलन गरिनु जति दुखद अरु हुन सक्दैन’, अध्यक्षद्वय नविना लामा र रञ्जित तामाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘आज सार्वजनिक शिक्षाको शिर उठाउने दायित्व पाउनुभएका शिक्षकहरुले खुल्ला प्रतिस्पर्धामा जान डराउनु जस्तो लाजमर्दो अरु के हुन सक्छ र?’ अखिल र क्रान्तिकारीले अस्थायी शिक्षकहरुको सन्दर्भमा शिक्षा ऐनको नवौं संशोधनमा गलत प्रावधान राखिएको र आआफूहरु सुरुदेखि नै यसको विरोध रहेको बताएका छन्।
आन्तरिक दरबन्दीमा माग भएको कोटा बमोजिमका शिक्षक समेत उत्तीर्ण नहुनुले शिक्षा ऐनको नवौं संशोधनको प्रावधान गलत रहेको सिद्ध गरिसकेको उनीहरुको दावी छ। विज्ञप्तिमा गलत निर्णयलाई नजिरको रुपमा स्थापित गर्ने अर्को गल्ती नगर्न नेपाल सरकार, शिक्षा मन्त्रालयलाई ध्यानाकर्षणसमेत गराइएको छ।






