नेकपाका दिवंगद नेता भरतमोहन अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा पार्टीको झण्डा ओढाएका छन्।
अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको अधिकारीको पार्थिव शरीरमाथि अध्यक्षद्वय ओली र दाहालले पार्टीको झण्डा ओढाएका हुन्। सो क्रममा एक मिनेट मौन धारणसमेत गरिएको थियो।
अधिकारीप्रति श्रद्धाञ्जलि अपर्ण गर्न पार्टी कार्यालय धुम्बाराहीमा नेता, कार्यकतर्ता र सर्वसधारणको घुइँचो लागेको छ। यसैबीच नेकपाले नेता भरतमोहन अधिकारीको निधनको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने र पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले अधिकारीको परिवारप्रति श्रद्धाञ्जली दिंदै पार्टीको झण्डा झुकाउने निर्णय गरेको थियो। त्यसैगरी बैठकले आगामी २३ गते दिवंगत नेता भरतमोहन अधिकारी र रवीन्द्र अधिकारीको श्रद्धाञ्जली सभा संयुक्त रुपमा आयोजना गर्ने निर्णयसमेत गरेको छ।
पूर्व उपप्रधानमन्त्री एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको शनिबार राति ८२ वर्षको उमेरमा निधन भएको थियो। यसैगरी पर्यटनमन्त्री रवीन्द्र अधिकारीको यही फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो।






