यस्तो थियो बीपी कोइरालाको पुर्ख्यौली घर

नेपालका जननिर्वाचित प्रथम प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला विराटनगरका बासिन्दा थिए। उनका पिता कृष्णप्रसाद कोइराला सिन्धुलीबाट मोरङमा बसाई सरेका थिए। विराटनगर नेपालको पहिलो औद्योगिक शहर थियो।

बीपी कोइराला विराटनगरमै जन्मिएका थिए। तर, उनका पिता कृष्णप्रसादको जन्म सिन्धुलीमा भएको थियो। त्यही कोइराला परिवार मोरङमा बसाई सरेर नेपालको राजनीतिमा अब्बल परिवारका रुपमा स्थापित भयो। माथिको घर जननायक बिपी कोइरालाको सिन्धुलीको दुम्जास्थित पुर्खौली घर हो, जहाँ उनका पिता कृष्ण प्रसाद कोइरालाको जन्म भएको थियो।

ऐतिहासिक भन्न सकिने उक्त घर अहिले अत्यन्तै जीर्ण अवस्थामा रहेको छ। राजनीतिक संग्रहालय बनाउनुपर्ने यो घरतिर कसैको पनि खास ध्यान पुगेको देखिँदैन। कृष्णप्रसादका तीन छोरा थिए, विश्वेश्वरप्रसाद कोइराला, मातृकाप्रसाद कोइराला र गीरिजाप्रसाद कोइराला। यी तीनै जना त्यस्ता छोरा हुन्, जो नेपालमा प्रधानमन्त्री भए। तीन छोरामध्ये बीपी कोइराला चिन्तन र आदर्शका दृष्टिले उत्कृष्ट मानिन्छन् भने गीरिजाप्रसाद शक्तिका केन्द्र थिए।