‘सरकारसँग जनता निराश छन्- गगन थापा

नेपाली काङ्ग्रेसका प्रभाबशाली युवा नेता तथा केन्द्रीय सदस्य गगन थापाले बहुमतको सरकारको रबैयाले नेपाली जनता निराश भएको बताएका छन् ।

 जनताको हितका लागि सकरात्मक काम नगर्दा जनता सरकारप्रति निराश भएको उनको भनाइ थियो । सांसद् गगन थापाले सरकारसँग रिसाएका नेपालीहरूमा काङ्ग्रेसले आशा जगाउनुपर्ने बताएका थिए ।

इटहरीमा नेता कार्यकर्ताहरूलाई प्रशिक्षण दिँदै सांसद् थापाले भने, ‘सरकारले नराम्रो काम गर्दै गयो, चार वर्षपछि हाम्रो पालो आउँछ भनेर खुसी हुने बेला होइन ।’ नेपाली काङ्ग्रेस नगर कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै सांसद थापाले जनता सरकारसँग रिसाएर हामीलाई केही फरक पर्दैन तर यो व्यवस्थासँग रिसाए भने हामीलाई फरक पर्छ, सिङ्गो देशलाई फरक पर्ने बताए ।

 तसर्थ नेपाली काङ्ग्रेसले रिसाएका नागरिकमा नयाँ आशा जगाई राख्नुपर्ने उनले बताए । नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरू निराश हुनुपर्ने अवस्था नभएको बताउँदै सांसद् थापाले भने हिजो काङ्ग्रेससँग रिसाएर सूर्य चिन्हमा भोट हालेका मानिस जो अहिले निरास बनेका छन्, बन्दैछन् उनीहरूलाई हामी यो व्यवस्थालाई राम्रो बनाउन सामथ्र्य राख्छौँ भन्ने विश्वास जगाउनुपर्ने बताए ।

पार्टी भित्रको आन्तरिक विवाद ठूलो विषय नभएको भन्दै सांसद् थापाले आश्वस्त पार्ने प्रयास गरे । ‘पार्टी भित्र बेमेल हुन्छ, त्यो स्वभाविक हो । तर पार्टी भित्रको स्थानीयस्तरको बेमेललाई सीमा भित्रै कायम राख्दै सम्पूर्ण नेता कार्यकर्ता एकढिक्का हुन आवश्यक छ’–थापाले भने । काङ्ग्रेसका इटहरी सभापति हेमकर्ण पौडेलले इटहरीलाई काङ्ग्रेस अरुको आलोचना गरेर हैन आफ्नै पार्टी भित्र सुधार गर्नुको विकल्प नभएको बताए । काङ्ग्रेसका जिल्ला सचिव केदार भण्डारीलगायतका नेताहरूको उपस्थित रहेको थियो ।