बाँकेको होलियामा हात्तीपाइले रोग नियन्त्रणका लागि आगामी फागुन १५ गतेदेखि अभियान शुरु गरिने भएको छ । होलिया स्वास्थ्य चौकीले ९ केन्द्रबाट औषधि सेवनको कार्यक्रम सञ्चालन गर्ने भएको सोमबार आयोजना गरेको अन्तक्रियामा जानकारी दिएको हो ।

नवौं चरणमा खुवाउन लागिएको औषधि यसपटक स्वास्थ्यकर्मीले नै खुवाउने होलिया स्वास्थ्य चौकीका इन्चार्ज प्रेम सोमाईले बताए । १५ गते तोकिएका बुथमा औषधि खुवाइनेछ भने १६ गतेदेखि २६ गतेसम्म घरदैलो अभियान गरेर औषधि खुवाइने सिअहेब रण बहादुर चन्दले जानकारी दिए ।
बिगतमा महिला स्वास्थ्य स्वयम् सेविकाबाट औषधि खुवाउने गरिएकोमा अभियानलाई थप प्रभावकारी बनाउन यसपटक स्वास्थ्यकर्मीबाटै औषधि खुवाउने रणनीति बनाइएको चन्दले बताए ।
होलिया स्वाथ्य चौकीले गरेको अन्तरक्रियामा सहभागिहरुले गाँउमा अझै चेतना पुग्न नसकेकोले औषधी खुवाउन समस्या उत्पन्न हुन सक्ने बताएका थिए ।
वडा नं. १ का वडा अध्यक्ष पटेश्वर कुर्मीको अध्यक्षता मा भएको अन्तरक्रियामा प्रहरी चौकी होलियका इन्चार्ज कबिन्द्र कढायतले सम्भ्रान्त र हुनेखाने परिवारका सदस्यले नै हात्तीपाइले रोगविरुद्ध औषधि नखाइदिँदा रोग निवारणमा चुनौती बढेको बताए । उनले जन प्रतिनिधिहरुलाई अभियानको अवधी भरी स्वास्थ्यकर्मीहरु संगै रहेर औषधी खुवाउने कार्यमा सहयोग गर्न सुझाव दिएका थिए ।
वडा सदस्य शुष्मा यादवले,जान्ने बुझ्नेले औषधि नखाइदिँदा रोगको पूर्ण रोकथाममा समस्या देखा पर्ने गरेको बताउदै स्वास्थ्यकर्मी र वडाका प्रतिनिधिहरुको रोहबरमा औषधी खुवाउने बताऐ । उनले औषधी खाना अटेर गर्नेहरुको नामावली तयार गरी ३ महिनाका लागि वडाबाट प्रदान गर्ने सेवाबाट बन्चीत गर्ने बताए ।
सिअहेब जयलाल उपाध्यायले बाँकेमा ५ लाख ८८ हजार २ सय ७८ जनालाई औषधि खुवाउन ३ सय ६८ स्वास्थ्यकर्मी खटिने बताए । सोही अनुरुप होलियामा कर्मचारी खटाउने तयारी पुरा भएको बताए। उनले होलियका स्वास्थ्यकर्मीलाई सघाउन महिला स्वास्थ्य स्वयम्सेविकालाई खटाईने जानकारी दिए ।
होलिया स्वास्थ्य चौकीका इन्चार्ज सोमाईले हात्तीपाइले रोगलागेमा हातखुट्टा र ग्रन्थी सुन्निने, हाइड्रोसिल हुने, स्तनमा गिर्खा देखिने लगायत समस्या देखिने भई समयमै उपचार हुन नसकेमा मानिसमा अपाङ्गता हुने खतरा रहेकोले औषधी खान सुझाव दिएका छन् ।
वडा अध्यक्ष पटेश्वर कुर्मीले स्वास्थ्यकर्मीबाटै औषधि खुवाउँदा स्थानीयहरु विश्वस्त हुने भएकोले यो अभियान सफल हुने बताएका थिए । कार्यक्रममा औषधि खाँदा हुने रियाक्सन औषधिका कारण नभई किटाणुका कारण हुने भएकोले नडराउन अपिल समेत गरे ।
दीर्घरोगी, गर्भवती तथा ७ दिनको सुत्केरी महिला र २ वर्षमुनिका बालबालिकाबाहेक सबैले यो औषधि सेवन गर्न सकिने बताईएको छ । यो औषधिले कुनै पनि नकारात्मक असर नगर्ने कार्यक्रममा बताईएको थियो ।




