तल्लो मोदीको विद्युत् उत्पादन महिना दिन भित्रै

तोकिएको समयभन्दा करीब तीन वर्षपछि २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत् आयोजनाले उत्पादन गर्ने भएको छ ।

मोदीखोलामा निर्माणाधीन मोदीखोला जलविद्युत् आयोजनाले भित्री र बाहिरी पूर्वाधारको काम अन्तिम चरणमा पुगेपछि आगामी महीना परीक्षण उत्पादन शुरु गर्ने जनाएको छ ।

विसं २०६९ साउनमा निर्माण शुरु भएको आयोजनाको उत्पादन लक्ष्य २०७४ असारमा थियो । निर्धारित समयमा नसकिएपछि सोही फागुनमा सक्ने लक्ष्य सार्वजनिक गरेको आयोजनाले प्राकृतिक, मानवीयलगायतका विभिन्न कारण देखाउँदै यसअघि धेरै पटक उत्पादन मिति सारेको थियो ।

अघिल्लो असार मसान्तभित्र उत्पादन दिने दाबी गरेको भए पनि पूर्वाधारतर्फ काम नसकिएको र टनेलभित्र केही समस्या आएका कारण ढिलाइ भएको आयोजनाले जनाएको थियो । लक्ष्यअनुसार समयमै काम सक्न स्थानीयको अवरोध, प्राकृतिक प्रकोपलगायतका कारणले ढिलाइ भएको भन्दै आयोजना प्रमुख पवनकुमार यादवले बताए ।