एजेन्सी– पाकिस्तान आर्मीले भारतसँग युद्धको तयारी सुरु गरेको छ । सञ्चारमाध्यमका अनुसार भारत–पाक सीमामा तैनाथ गरिएका सेनाका टुकडीका लागि युद्धका सामान पठाउने तयारी भइरहेको छ ।
पाकिस्तानले अस्पताललाई पनि मेडिकल सहयोग गर्न तयार रहन आग्रह गरेको छ । जैस ए मोहम्मदका प्रमुख मसुद अजहरले इमरान खान सरकारलाई भारतको तर्फबाट आएको दवाबसँग झुक्न आवश्यक नभएको बताएका छन् ।
यसबीच संयुक्त राष्ट्र संघ सुरक्षा परिषदले पुलवामा आक्रमणको कडा आलोचना गरेको छ । भारतप्रति समर्थन गर्दै आक्रमणलाई कायरतापूर्ण काम भएको प्रतिक्रिया दिएकाे छ।
सञ्चारमाध्यममा प्रकाशित समाचारका अनुसार बलुचिस्तानमा रहेका पाकिस्तानका सेना र पाकिस्तानको नियन्त्रणमा रहेको काश्मिरको स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । आदेशमा भारतसँग युद्ध हुने स्थितिका लागि तयार रहन भनिएको छ ।
पाकिस्तान आर्मी हेडक्वार्टर क्वेटा बेस लजिस्टिक्स एरियाबाट जिलानी अस्पताललाई २० फेब्रुअरीमा भारतसँग हुने युद्धका लागि मेडिकल सपोर्ट गर्न तयार हुन आदेश दिइएको छ ।
आदेशपत्रमा लेखिएको छ ‘पूर्वी मोर्चामा युद्ध भएको अवस्थामा घाइते सैनिकलाई सिन्ध र पञ्जाबका सिभिल र मिलिट्री अस्पतालबाट सहयोग मिल्नेछ । प्रारम्भिक उपचारपछि घाइतेलाई बलुचिस्तानको सिभिल अस्पताल पठाइने छ ।
बिहीबार पिओके सरकारले निलम, झेलम, रावलकोट, हवेली, कोटली र भिम्बरको नियन्त्रण रेखाभित्रको इलाका बस्ने मानिसका लागि युद्धको समयमा सुरक्षित रहन सुझाव जारी गरेको छ ।
पाकिस्तानी सरकारले मानिसलाई युद्धको समयमा सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । रातमा अनावश्यक रुपमा लाइट नबाल्न र नियन्त्रण रेखाभित्र नजान पनि स्थानीयलाई निर्देशन दिएको छ ।






