डा. भट्टराईले लगाए पहिलो पटक दौरा–सुरुवाल

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पहिलो पटक राष्ट्रिय पोशाक दौरा सुरुवाल लगाएका छन्। देश दौडाहामा रहेका डा. भट्टराईले पहिलो पटक दौरा सुरुवाल लगाएका हुन्।

संगठन निर्माणका क्रममा कर्णाली पुगेका डा. भट्टराईले दौरा सुरुवाल लगाएको फोटो ट्विट गर्दै लेखेका छन्, ‘देश अनुसारको भेष! जीवनमा पहिलो पटक दौरा–सरुवाल लगाएर खस बाहुल्य कर्णाली प्रदेश प्रवेश गरियो।’

यसअघि ०६५ सालमा अर्थमन्त्री र पछि प्रधानमन्त्री बनेका भट्टराईले कहिल्यै दौरा–सुरुवाल लगाएका थिएनन्। राज्यका उच्च पदमा पुग्दासमेत दौरा सुरुवाल नलगाएको भन्दै त्यतिबेला उनको आलोचना पनि भएको थियो। प्रधानमन्त्री र अर्थमन्त्री हुँदा भट्टराईले कालो भातगाउँले टोपी लगाएका थिए।

माओवादी जनयुद्धलाई शान्तिपूर्ण रुपमा अवतरण गराएपछि माओवादी मुलधारको राजनीतिमा प्रवेश गरेको थियो। ०६४ सालको संविधानसभा निर्वाचनमा माओवादी सबैभन्दा ठूलो दल बनेर सरकारको नेतृत्व गरेको थियो।

तर सरकारको नेतृत्व गर्दा पनि माओवादी नेताहरुले दौरा–सुरुवाल लगाएका थिएनन्। यद्यपी भट्टराईले तत्कालीन माओवादी केन्द्र परित्याग गरी नयाँ शक्ति पार्टी गठन गरेका छन् भने तत्कालीन माओवादी र तत्कालीन एमालेबीच एकता भएर अहिले नेकपा बनेको छ।

दौरा–सुरुवाललाई सामन्तीको पोशाक भन्दै तत्कालीन माओवादीले दौरा सुरुवाल बहिष्कार गरेको थियो। तर माओवादीबाट उपराष्ट्रपतिमा निर्वाचित नन्दबहादुर पुनले दौरा–सुरुवाल लगाएपछि माओवादी दौरा–सुरुवालप्रति उदार भएको अनुमान गरिएको थियो। वर्तमान सभामुख कृष्णबहादुर महराले पनि सभामुख भएपछि दौरा सुरुवाल लगाउन सुरु गरेका छन्।