जिल्ला प्रहरी कार्यालय कास्कीले नक्कली नोट छाप्ने दुई जनालाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालयको टोलीले हेटौँडा नगरपालिका–९ का ३३ वर्षीय प्रेमबहादुर तामाङ र सोही नगरपालिका–१ की २५ वर्षीया सरस्वती बलामीलाई पक्राउ गरेको हो । उनीहरुलाई पोखरा महानगरपालिका वडा नं ५ पस्र्याङस्थित डेराबाट नक्कली नोट छाप्दाछाप्दै पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्रमान गुरुङ जानकारी दिए ।
पोखरा–१६ अर्मलास्थित गुरुङ किराना पसलमा एक हजारको नोट दिएर १०० को रिचार्ज कार्ड खरीद गरेका र पछि नक्कली नोट भएको थाहा पाएपछि प्रहरीलाई दिएको सूचनाका आधारमा उनीहरुलाई तत्काल पक्राउ गरिएको हो । ग १४ प २५४ नम्बरको मोटरसाइकल प्रयोग गरेर विशेष गरी महिला तथा बालबालिका भएको पसलमा नक्कली नोट दिने गरेका उनीहरुले पोखराको विभिन्न २०० स्थानमा नोट साटेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुको कोठाबाट ल्यापटप र कलर प्रिन्टर एक–एक थानसहित एक हजार दरका १९ थान नक्कली नोट, एक लाख २८ हजार ४३० नेपाली रुपैयाँ र एक हजार भारतीय रुपैयाँलगायत अन्य सामग्री फेला परेको छ ।




