पोखरा आयो हुन्डाईको स्यान्ट्रो

हुन्डाईको बहुप्रतीक्षित अल न्यु स्यान्ट्रोको पोखरामा बिक्री सुरुवात भएको छ ।

३ दिनमा १० वटा गाडी बुकिङ भएका छन् । हुन्डाईले नेपालभर शुक्रबारबाट स्यान्ट्रो बिक्री सुरुवात गरेको थियो ।

शुक्रबार, आइतबार र सोमबार ३ दिनमा १२ वटा सेन्ट्रो बुकिङ भएको हुन्डाईको आधिकारिक बिक्रेता एलआइ मोटर्सका सेल्स एन्ड मार्केटिङ इन्चार्ज भीम खत्रीले जानकारी दिए । लक्ष्मी इन्टरकन्टिनेन्टल र हुन्डाई मोटर्सको साझेदारी १० वर्ष पुगेको उपलक्ष्यमा हुन्डाई स्यान्ट्रो सार्वजनिक गरिएको हो । विभिन्न ६ रंगमा उपलब्ध हुन्डाइको नयाँ स्यान्ट्रो ४ भेरिएन्टमा उपलब्ध छ ।

यसको बेस भेरिएन्ट अर्थात म्याग्नाको मूल्य २४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । म्याग्ना एएमटीको मूल्य २८ लाख ५६ हजार, स्पोट्र्जको मूल्य २६ लाख ९६ हजार र स्पोट्र्ज आस्टाको मूल्य २९ लाख ९६ हजार रुपैयाँ छ ।

मोडर्न र स्टाइलिस डिजाइन, आरामदायी र प्रिमियम क्याबिन, नयाँ युगको टेक्नोलोजी, ग्राहक केन्द्रित सुरक्षा र उत्कृष्ट परफर्मेन्सका साथ नयाँ स्यान्ट्रो गाडी नेपाली बजारमा भित्रिएको छ । नयाँ स्यान्ट्रोमा १ हजार ८६ सिसी र ४ सिलिन्डर पेट्रोल इन्जिन छ । जसले ६९ पीएस पावर र ९९ एनएमको टर्क प्रदान गर्ने कम्पनीले जनाएको छ ।