निर्मलाका आमाबुबा १०३ दिनपछि धर्ना स्थगित गर्दै

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्तका आमाबुबाले जारी राखेको धर्ना स्थगित गर्ने भएका छन् । २४ घण्टे धर्नाका कारण स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनीहरुले धर्ना स्थगित गर्न लागेका हुन् ।

गत कात्तिक २५ गतेबाट निर्मलाको परिवारले न्यायका लागि जिल्ला प्रशासन कार्यालयको गेट अगाडि धर्ना सुरु गरेका थिए । अधिकारकर्मी शारदा चन्दका अनुसार यही फागुन १० गतेबाट धर्ना स्थगित गर्न लागिएको हो । उनले भनिन्, ‘‘निर्मलाका बुबा यज्ञराजलाई त्रिवि शिक्षण अस्पतालका चिकित्कसले एक महिनाअघि नै उपचारका लागि बोलाएका थिए । यज्ञराजले डिप्रेसनको औषधी लिँदै आएका थिए । कान्छी आमा लक्ष्मीमा पनि टाउको दुख्ने, शरीर सुन्निने लगायतका समस्या देखिएका छन् ।’’

चन्दका अनुसार फागुन १० गते धर्ना स्थगित गर्दै यज्ञराज र लक्ष्मी सिधै काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा आउनेछन् । फागुन १० गते पीडित परिवारले संघर्ष समितिमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउने छ । धर्नाको अवधिमा विभिन्न कार्यका लागि लागेको २३ हजार ३ सय ४५ रुपैयाँ ऋण तथा काठमाडौंमा यज्ञराजको उपचार र लक्ष्मीको सहयोगका लागि चन्दा संकलन गरिने चन्दले बताइन् ।

गत साउन १० गते साथीको घर निस्किएकी निर्मला साउन ११ गते उखुबारीमा मृत फेला परेकी थिइन् । निर्मलाको हत्या कसले गरेको हो भन्ने अझै पत्ता लागेको छैन । केन्द्रीय अनुसन्धान ब्युरोलगायतको विशेष प्रहरी टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीले अनुसन्धान साघुरिँदै गएको बताउँदै आएपनि अभियुक्त भने सार्वजनिक गर्न सकेको छैन बह्रखरीले जनाएको छ ।