७८ लाख घुस खाएका पाठकले दिए राजिनामा

 नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवाद सल्टाई दिने भन्दै ७८ लाख घुस खाएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले पदबाट राजीनामा दिएका छन् ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा बुझाएको कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिएका छन् । पाठकले नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवादमा ७८ लाख घुस लिएको खुलासा भएपछि उनी विवादमा तानिएका थिए । 

हिजो मात्रै कानुनमन्त्री भानुभक्त ढकाल र महान्यायाधिवक्ता अग्नि खरेलबीच शुरुमा राजीनामा गर्न समय दिने र राजीनामा नआए महाअभियोगको तयारी गर्ने निष्कर्ष जुटेको थियो । नेकपाले पनि आजै महाभियोगको तयारी गरेको थियो । तर, पाठकले महाभियोगबाट बच्न आजै राजीनामा दिएका छन् । पाठकको घुस प्रकरणको भिडियो प्रधानमन्त्री समक्ष पुगिसकेको बताइएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त पाठकविरूद्ध महाभियोग लगाउनका लागि आज हस्ताक्षर संकलन गर्ने तयारी गरेको थियो । पाठकले भक्तपुरको चांगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकसँग घुस लिएको भिडियो समेत बाहिरिसकेको छ ।

स्वामित्व विवादमा रहेको इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेले आयुक्त पाठकलाई ७८ लाख घुस दिएको समाचार सार्वजनिक भएसँगै नेकपाले महाभियोगको छलफल अगाडि बढाएको थियो ।