आईएसआई र अलकायदाको रकम नेपालका आईएनजीओमा

सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले नेपालमा केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)ले अन्तर्राष्ट्रिय खुफिया एजेन्सी आईएसआईएस, अलकायदा तथा अन्य आतंकवादी संगठनमार्फत अर्बाैं रुपैयाँ भित्राईरहेको हुन सक्ने आशंका गरेको छ ।

आईएनजीओबाट नेपाल भित्रिने अर्बाैं रुपैयाँ अपारदर्शी रहेको र स्रोत खुल्न नसकेको भन्दै आयोगले सबै आईएनजीओलाई सूक्ष्म निगरानीमा राखी अध्ययन गर्नसमेत सरकारलाई सुझाएको छ ।

सरकारले समाज कल्याण परिषद्मा देखिएको अनियमितता र विकृतिबारे छानबिन गर्न पूर्वमुख्य न्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा पाँच सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो । १८ साउन २०७५ मा गठन भएको सो आयोगले आफ्नो प्रतिवेदन केही दिनअघि मात्रै सरकारलाई बुझाएको छ ।

आयोगले गत एक वर्षमा नेपालमा रहेका आईएनजीओले विभिन्न परियोजना र कार्यक्रमको नाममा ४२ अर्ब रुपैयाँ भित्राएको समेत औंल्याएको छ । आयोगका अनुसार हाल नेपालमा २५० आईएनजीओ कार्यरत छन् । छानबिन र अध्ययन क्रममा नेपालमा आईएनजीओले ल्याउने गरेको अर्बाैं रुपैयाँको स्रोत अन्तर्राष्ट्रिय खुफिया र आतंकवादी संगठनहरूको समेत हुन सक्ने भन्दै सरकारलाई यसमा सचेत रहन सुझाव दिइएको जाँचबुझ आयोगका एक सदस्यले राजधानीलाई बताए ।