तनहुँमा अर्का वडाध्यक्ष पनि पुर्पक्षका लागि थुनामा

बलात्कारको अभियोगमा तनहुँको घिरिङ गाउँपालिका ४ का वडाध्यक्ष झकबहादुर कुमाल पुर्पक्षका लागि थुनामा परेका छन् ।

गत वैशाख २५ गते एक युवतीलाई जबर्जस्ती करणीपछि फरार रहेका कुमाललाई जिल्ला अदालत नवलपुरले सोमबार पुर्पक्षका लागि थुनामा पठाएको हो । यसअघि शुक्लागण्डकी नगरपालिका वडा नं. का वडाध्यक्ष कृष्णप्रसाद रेग्मी पनि बलात्कार आरोपमा पुर्पक्षका लागि जेलचलान भएका थिए ।

कुमालले सोमबार नवलपुर प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनलाई सोमबार जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलासले थुनामा पठाउने आदेश दिएको हो ।

कुमालले नवलपुरको बुङ्दीकाली गाउँपालिका–२ जङ्गलमा जबर्जस्ती करणी गरेको ती युवतीले नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन् । अदालतको आदेश अनुसार वडाध्यक्ष कुमाललाई चितवन कारागार चलान गरिएको नवलपुरका प्रहरी नायब निरीक्षक टिकाराम पोखरेलले जानकारी दिए । नवलपुरमा कारागार नभएकाले उनलाई चितवन पठाइएको हो ।