सरकारको कामबाट जनता निरासा:नेता रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको कामबाट जनतामा निरासा छाएको बताएका छन् । 

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘दुई तिहाइका कम्युनिष्ट सरकारले चुस्त दुरुस्त रुपमा फटाफट काम गर्छ भन्ने जनताको अपेक्षा निरासामा परिणत भएको छ ।’ 

सरकारप्रति कडारुपमा प्रस्तुत भएका नेता पौडेलले वर्तमान सरकार गतिहीन देखिएको टिप्पणी गरे । उनले भने, ‘गतिविधि भन्नुपर्दा गति पनि छैन, विधि पनि छैन, मनलाग्दी गर्छ ।’ प्रतिपक्ष चुस्त हुँदै सरकारको कामको निगरानीमा लागेको नेता पौडेलले बताए । 

अर्को एक प्रसङ्गमा उनले पार्टीको केन्द्रीय समितिका पदाधिकारी र सदस्य वडा तहवाटै निर्वाचित भएर आउनुपर्ने बताएका छन् । महासमितिले निर्णय गरिसकेको भन्दै उनले केही साथीले वडा तहबाट चुनाव लड्न किन जाने भनेको भए पनि त्यो सम्भावना नरहेको बताए । 


नेता पौडेलले राजीनामा दिएको केन्द्रीय समितिका पदाधिकारीले मनलाग्दो ढङ्गबाट कोही कसैलाई पत्र लेखेर नियुक्त गर्न नसक्ने भन्दै पार्टीले लिने निर्णय नै अन्तिम हुने बताए ।