मुलुकभरका कारागारमा २७ कैदीको मृत्यु

चालू आर्थिक वर्ष २०७५–७६ को हालसम्ममा मुलुकभरका कारागारमा २७ कैदीको मृत्यु भएको छ । विभिन्न रोगका कारण ती कैदीको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै केन्द्रीय कारागार जगन्नाथदेवलका कैदी रहेका छन् । 

कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीले अधिकांश कैदीको बुढ्यौलीका कारण मृत्यु भएको बताए । ‘रुघा, खोकी, दम, ज्वरो, टाइफाइड तथा विभिन्न सरुवा रोगका कारण कैदीको मृत्यु भएको हो’, उनले भने । 

सरकारले कैदीको उपचारका लागि केन्द्रीय कारागारभित्र ३० शैंयाको अस्पताल समेत निर्माण गरेर सेवा दिइरहेको छ । कारागार अस्पतालमा उपचार हुन नसकेका बिरामीलाई रोगको प्रकृति हेरेर वीर अस्पताल, त्रिभुवन शिक्षण अस्पताल, मानसिक अस्पताल र गङ्गालाल अस्पतालमा पठाउने गरिएको कारागार अस्पतालका निमित्त सुपरिटेन्डेण्ट डा भगतलाल श्रेष्ठले जानकारी दिए । 

हाल देशभर झण्डै २१ हजार कैदी छन् । करीब तीन हजार कैदी केन्द्रीय कारागारमा छन् । कारागार अस्पतालमा चालू आर्थिक वर्षमा मात्रै झण्डै पाँच हजार नयाँ तथा पुराना कैदीको उपचार गरिएको छ ।