आठौं राष्ट्रिय खेलकुदका लागि फागुन ३ गतेबाट गण्डकी प्रदेश स्तरीय छनोट सुरु हुने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।
पोखरा रंगशालामा फागुन ४ गते औपचारिक उद्घाटन गरी सुरु हुने छनोट प्रतियोगिताका लागि जिल्लालाई समेत तोकिएको पश्चिमाञ्चल क्षेत्रीय खेलुकद समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले जनाएका छन् ।
प्रतियोगिताका लागि म्याग्दी, बागलुङ, कास्की, नवलपुर, तनहुँ र चितवनमा समेत छनोट गर्ने गरी खेल तालिका र स्थान क्षेत्रीय खेलकुद विकास समितिले सार्वजनिक गरिसकेको छ ।
क्षेत्रीय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण योगीका अनुसार छनोट प्रतियोगितामा कुल २७ खेलका छुट्टाछुट्टै इभेन्ट्स हुनेछन् । ८ वटा खेलका सोझै संघमार्फत छनोट गर्ने गरी प्रबन्ध मिलाइएको प्रमुख योगीले बताए । साइक्लिङ, फेन्सिङ, ट्रायथोलन, प्याराग्लाइडिङ, गल्फ, सफ्ट टेनिस, शारीरिक सुगठन र कुस्तीका खेल केही राष्ट्रिय र केही संघले सोझै छनोट गर्ने गरी मिलाइएको छ ।
गण्डकी प्रदेशमा करिब २७ दिनसम्म हुने छनोटका लागि खेलाडी, निर्णायक र व्यवस्थापक गरी २ हजार ८ सय ५६ जनाको सहभागिता रहने कार्यालय प्रमुख योगीले जानकारी दिए ।






