फागुन १ देखि जाउँ है माछापुच्छ्रे महोत्सव

कास्कीको माछापुच्छ्रेगाउँपालिका १ टुसेमा यही फागुन १ देखि ५ गतेसम्म जाउँ है माछापुच्छ्रे महोत्सव हुने भएको छ ।

माछापुच्छ्रे पोखरा सम्पर्क समाजको आयोजनामा माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धन तथा पर्यटकीयस्थलको प्रचार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिने समाजका अध्यक्ष आशीष पुनले बताए । महोत्सवबाट बचत रकम एम्बुलेन्स खरिद तथा समाजको भवन निर्माणमा थप गरिने उनले बताए ।

एम्बुलेन्स खरिदको लागि स्वदेश तथा विदेशमा समेत शुभचिन्तक, शुभेच्छुकसँग आर्थिक संलकन गरिएको र महोत्सवपछि पनि आर्थिक संलकलनलाई जारी राखी एम्बुलेन्स खरिद गरिने अध्यक्ष पुनले बताए ।

महोत्सवमा गाउँस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल, स्थानीय झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, प्राचीन लोक नृत्य, झ्याउरी, सालैजो, कौडा, मारुनी नृत्य, तरकारी र फलफूलका कृषिसम्बन्धी स्टल रहने आयोजकको भनाइ छ ।

महोत्सवमा खड्ग गर्वुजा, बलदीप अर्मजा, समीक्षा अधिकारी, कुमार पुन, जयलक्ष्मी छन्त्याल, नीर आले, अञ्जु पोखरेल, दीपक थापा, रामु पुन लगायतका कलाकारको प्रस्तुति रहनेछ ।
महोत्सव सम्पन्न गर्न १२ लाख ७९ हजार खर्च लाग्ने र १४ लाख ७१ हजार विभिन्न प्रायोजक तथा सहयोगीबाट संकलन गर्ने लक्ष्य समाजले राखेको छ ।