हेलिकोप्टर चढेर शोरुम उद्घाटन

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई यतिबेला केही आलोचनामा आएका छन् । हिजो मन्त्री राई महिन्द्रा कम्पनीको शोरुम उद्घाटन गर्न हेलिकप्टर चढेर ओखलढुंगा पुगेका थिए । रुम्जाटार अटोमोवाइल्स प्रालिले सिद्धिचरण नगरपालिका वडा नम्बर ५ वर्णालुमा सञ्चालनमा ल्याएको शोरुम उद्घाटन गर्न उनी त्यहाँ पुगेका थिउ । मन्त्री राई महिन्द्रा कम्पनीका प्रतिनिधि देश सभाका सांसद अम्बीरबाबु गुरुङसंग उद्घाटनका लागि पुगेका थिए ।

रुम्जाटार अटोमोबाइल्स कम्पनीमा प्रदेश सभाका सांसद गुरुङको मुख्य लगानी रहेको बताइन्छ । गुरुङकै पहलमा मुख्यमन्त्री राई कम्पनीको शोरुम उद्घाटन गर्न पुगेका थिए । यता मन्त्री राईले निजी कम्पनीको शोरुम उद्घाटन गर्न पुगेपछि सरोकारवालाहरुले आपत्ति जनाएका छन् । नेकपाका नेता बाबुराम गौतमले समग्र प्रदेशको विकास निर्माणमा असर पर्ने गरी स–साना काममा मुख्यमन्त्री कुद्न उपयुक्त नभएको बताए ।

मन्त्री राई ३ पटक ओखलढुंगा पुगिसकेका छन् तर उनी एक पटक पनि नेकपाको कार्यालय पुगेका छैनन्। जस कारण नेकपाका कार्यकर्ताहरु पनि उनीप्रति रुष्ट छन् । मन्त्री राई र प्रदेश सभा सांसद गुरुङबीच निकटको सम्बन्ध रहेको छ । स्मरण रहोस यसअघि मन्त्री राई थाइल्याण्ड हुँदै अमेरिका जाँदा सांसद गुरुङकै खर्चमा अमेरिकासम्म पुगेको भन्दै आलोचनामा आएका थिए ।