चैतमा अन्तर्राष्ट्रिय फेसन सप्ताह

पोसाक महासंघ, नेपालको आयोजनामा चैत २८ देखि ३० गतेसम्म पोखरामा अन्तर्राष्ट्रिय फेसन सप्ताह हुने भएको छ । नेपालको राष्ट्रिय पोसाक, आदिवासी जनजाति, रैथाने, लोपोन्मुख पोसाकका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको पोसाक महासंघका अध्यक्ष नविन लुइँटेलले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

‘नेपाल बाहेक ५ वाह्य मुलुकहरुले सहभागिता जनाउने तय भइसकेको छ,’ उनले भने, ‘पर्यटन वर्ष २०२० लाई सहयोग गर्ने हेतुले पनि कार्यक्रमले महत्व राख्ने विश्वास लिएका छौं । एउटै स्टेजबाट नेपाल सहितका अन्य राष्ट्रको पोसाक प्रदर्शन गराइने भएकोले पोसाकका सांस्कृतिक विविधता झल्कने छ ।’

हलिउड तथा बलिउड, ओस्कार, ग्रामीमा सेलिब्रेटीहरुले पहिरी सकेका ज्वेलरी डिजाइनका ख्यातीप्राप्त डिजाइन मोना सार्फ कार्यक्रमको अन्तिम दिन उपस्थित हुने भएको महासंघका महासचिव अधिवक्ता राजन ढुंगेलले जानकारी दिए ।


पहिलो पटक सन् २०१४ अगस्ट १५ देखि १८ मा इन्डोनेसियाको पुरातात्विक सहर सुरावयामा सम्पन्न एसियन फेसन सप्ताहको संस्करण स्वरुप यस वर्ष पोखरामा आयोजना गरिन लागेको पोशाक महासंघले जनाएको छ । फेसन सप्ताहका लागि महासंघले स्थानीय निकाय, विभिन्न सम्बन्धित संघसंस्थाहरुसँग समन्वय गरिने महासचिव ढुंगेलले बताए ।

यसअघि महासंघले सन् २०१८ अप्रिल २२ मा ‘इन्डियन इन्टिमेट फेसन विक’ भारतको मुम्बई तथा मलेसियाको इपो सहरमा नोभेम्बर ९ देखि ११ सम्म ‘इन्टरनेसनल इपो फेसन विक’ आयोजना गरिसकेको जानकारी दिइयो । पोखरामा हुने कार्यक्रममलाई ‘द काठमाडौं पोस्ट’ले प्रिजेन्टरको रुपमा साथ दिने भएको छ । प्रबद्र्धकको रुपमा नेपाल पर्यटन बोर्ड र भिजिट नेपाल २०२० रहनेछन् । कार्यक्रमलाई सिल्भर इन्टरटेनमेन्टले व्यवस्थापन गर्ने भएको छ ।