शिशु निकेतनको ३५ औं वार्षिकोत्सव

पोखरा १७ मा स्थित शिशु निकेतन सेकेन्डरी इङ्लिस स्कुलको ३५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस आइतबार विविध कार्यक्रम गरी मनाइएको छ ।

कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले दक्ष जनशक्ति उत्पादन गर्न प्रतिश्पर्धा गर्न आग्रह गरे । संस्कृति, संस्कारलाई बिर्सदै गएको नेपाली समाजको मौलिकता जोगाउँदै वैज्ञानि शिक्षा अहिलेको आवश्यकता भएको उनले बताए ।

विद्यालय व्यवस्थापन समितिका वरिष्ठ सदस्य नवदक्त ढुंगानाले शैक्षिक क्षेत्रमा फरक छवि बनाएको स्कुललाई यहाँसम्म आइपुग्नका लागि अविभावक र शुभचिन्तकले सदैव हौसला दिएको बताए । ‘जीवनका लागि शिक्षा’ नाराका साथ भएको अभिभावक दिवसमा प्राचार्य नरेन थापाले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष बिमला भण्डारी, प्याब्सन कास्कीका वरिष्ठ उपाध्यक्ष मथुरा पौडेलले पनि बोलेका थिए ।

समारोहमा दीर्घ सेवा सम्मान पदकबाट उपप्राचार्य रविमोहन बराल, शिक्षक गोगेन्सन दर्जी र दुर्गा खत्री सम्मानित भए । कार्यक्रममा एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सोमनाथ शर्मा अवार्ड प्रदान गरिएको थियो । जसमा २०७३ मा एसइईमा उत्कृष्ट अंक ल्याउने प्रेक्क्षा भट्टराई, उज्ज्वल लम्साल र सचिन कोइरालालाई अवार्ड प्रदान गरिएको थियो भने २०७४ मा एसइईमा उत्कृष्ट अंक ल्याउने १० जना विद्यार्थीलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

संस्थापक सोमनाथ शर्माको सम्झनामा राखिएको सो अवार्डले उनलाई सदैव जीवित राख्ने राखेको विद्यालयको व्यवस्थापन समिति अध्यक्ष सविता शर्माले बताए । विशेष रत्न पुरस्कारबाट मिस एसइई–२०७३ जेनिफर भट्टराई र २०७४ श्रेया अधिकारी सम्मानित भएका थिए ।